बेलायतमा कोरोना संक्रमणबाट ६१ हजार बढीको मृत्यु

एजेन्सी

आइतबार, २१ मंसिर २०७७, ०८ : २१
बेलायतमा कोरोना संक्रमणबाट ६१ हजार बढीको मृत्यु

एजेन्सी । बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या शनिबार साँझसम्म ६१ हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३९७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार १४ जना पुगेको छ । पछिल्लो एकसातामा तीन हजार ३८ जानको मृत्यु भएको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक  संख्या ६९ हजार ७५२ जना रहेको सरकारी तथ्याँक छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि शनिबार साँझ सम्म १७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप १५ हजार ५३९ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । यससंगै बेलायतमा कुल संक्रमितको संख्या १७ लाख पाँच हजार ९७१ पुगेको छ । पछिल्ला दिनहरुमा हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्यामा पनि कुनै कमि आएको छैन । बितेको २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमित भर्ना भएका छन् भने एक हजार २७४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हाल बेलायतका हस्पिटलमा १४ हजार ५५६ जनाको उपचार भैरहेको छ ।

यसैगरी बेलायतमा फाइजर बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने बताइएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० प्रमुख कार्यकारी क्रिस हप्सनले कोरोना विरुद्धको भ्याक्सिन्लाई म्याराथनको संज्ञा दिंदै आगामी मंगलबारबाट दौड शुरु हुने बताएका छन् ।

बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ  । 

प्रतिक्रिया दिनुहोस