बालुवाटार बैठकमा कसले गर्दो रहेछ टेप रकेर्ड ?

ओली नेकपा सिध्याउन लागिपरेको बहुमत नेताहरुको भनाई

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १० : १०
बालुवाटार बैठकमा कसले गर्दो रहेछ टेप रकेर्ड ?

काठमाडौँ । सत्तारुढ नेकपाको विधानले बहुमतको निर्णयलाई पार्टीको निर्णय मान्दछ । अदालतमा पनि न्यायाधीशहरुको बीचमा समान मत नभएको खण्डमा बहुमतका आधारमा निर्णय हुन्छ । फरक मत राख्नेको पनि त्यसमा सम्मानमा साथ समावेश गरिन्छ । केही समय पहिले वामदेव गौतमको विषयमा अदालतमा परेको मुद्दामा पनि न्यायाधीशहरुबीच समान धारणा भएन । 

एक जना न्यायाधीशले नोट अफ डिसेन्ट नै लेखे । नेकपाको सचिवालय बैठकमा नै पटक पटक माधवकुमार नेपालले फरक मत राखेका छन्, तर पार्टी निर्णय मानेका छन् । पटक पटक अपमान पनि सहेका छन् । तर, उनले पार्टी निर्णयलाई सदा सर्वदा कार्यान्वयन गर्ने तत्परता देखाएका छन् । किनकी, उनले सधै विधि, पद्दती तथा निमयको कुरा गरेका छन् । नियम सबैलाई बराबर भएको भन्दै निर्णय गरेपछि कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

तर, बयलगाढा चढेर अमेरिका पुगिन्न भन्दै गणतन्त्रको आन्दोलनलाई खिसी टिउुरी गर्ने खड्ग ओलीहरुले बहुमतको निर्णय मान्नुनपर्ने, गलत भएपनि सही भएको भन्दै थपडी बजाइदिनुपर्ने विषम खालको अवस्था नेकपाभित्र पैदा भएको छ । खड्ग ओलीले आफूलाई लुई चौधोले जस्तै म नै राज्य हुँ भन्ने शैलीमा अरुलाई अर्ती उपदेश दिँदै हिडेका छन् । लाग्छ, उनी कानून भन्दा माथि छन् ।  उनी पार्टीको विधि भन्दा माथि छन् । उनी अझै आफू पूर्वएमालेको निर्वाचित अध्यक्ष भएको नाटक गर्छन् । २०७५ जेठ ३ गते नै तत्कालीन एमाले विघटन भएको हो । सोही दिन नै तत्कालीन नेकपा (माओवादी केन्द्र) विघटन भएर नेकपा गठन भएको हो ।

ओलीलाई प्रधानमन्त्री बनाएको नेकपाले हो । बहुमतले हो । तर खोलो त¥र्यो, लौरो बिस्र्यो भने जस्तैगरी ओलीले विगतमा सबै सहमति, सम्झौतालाई भत्काएर भारतीय खुफिया एजेन्सीको योजनामा नै नेकपा सिध्याउन लागिपरेका छन् । ओलीको गैरजिम्मेवारी चरित्रका कारण नेकपालाई मत दिएका नेपाली जनता सबैभन्दा बढी समस्यामा परेका छन् । नेकपालाई विश्वास गरेका नेपाली नागरिक आज यस्ता नी कम्युनिस्ट प्रधानमन्त्री भन्दै धिक्कार गरिरहेका छन् ।  बैठक बोलाउन आग्रह गर्दा, अटेर गर्ने । तोक लगाइदिएको छु भन्ने । बहुमतको निर्णय मान्दिन भन्ने, उनको व्यवहार, कार्यशैली, चिन्तन तथा प्रवृत्तिका कारण नेकपा अब क्रमशः रसातलमा पुगेको छ ।

ओलीलाई जति दिन नेकपाले बोकेर हिड्छ, त्यति नै दिन दिन दुई गुणा, रात चार गुणाको दरले नेकपा क्षयीकरण भएर जान्छ । क्रमशः अब सकिन्छ । किनकी हिजो प्रजा परिषद् पनि जल्दोबल्दो पार्टी नै थियो । आज इतिहासमा समेत खोज्दा पनि नभेटिने भएको छ । नेकपा भित्रको विवाद अब के कसरी समाधान हुन्छ त ? राजनीतिक विश्लेषकहरु भन्छन्–अब ओलीलाई बहुमतको आधारमा निर्णय गरेर विदा गर्नु नै उपयुक्त विकल्प हो । ओलीका कारण झण्डै दुई तिहाई जनमत प्राप्त गरेको पार्टी रसातलमा पुगेको छ । हेर्दा हेर्दै पार्टीको डुंगा डुब्दै गएको छ । यसलाई किनार लगाउन अब तत्काल उनलाई बिदाई गर्नु नै उपयुक्त हुन्छ । नेकपाले अन्तरिम विधान, अन्तरिम पार्टी कमिटी तथा अन्तरिम मत भनेकै भरमा ओलीलाई बोकेर हिँड्नु हुँदैन । राष्ट्रवादको नारा दिएर अराष्ट्रिय व्यवहार गर्दै आएका ओलीको विदाई नै सबैभन्दा उत्तम विकल्प हो । 

जानकारहरुका अनुसार ओलीलाई गलत सल्लाह दिएर पार्टीलाई कोमामा पु¥याउन सहयोग गर्ने विष्णु रिमाल, सूर्य थापा, सुवास नेम्वाङहरुलाई समेत अनुशाासनको कारवाही चलाउनुपर्छ ।  तत्कालीन राजा ज्ञानेन्द्रलाई डुबाउने कमल थापाहरुले अभयदान पाए जस्तै गरी ओलीलाई उचालेर गलत काम गर्न उचाल्ने जो कोहीलाई पनि अब छुट दिइनु हुँदैन । बालुवाटारमा बसेर जनताले तिरेको करमा दोहन गर्ने, भ्रष्टाचार संस्थागत गर्ने, अनियमिततालाई बढावा दिने तथा भए नभएका वक्तव्य बाजी गर्ने सबैलाई पार्टीको डण्डा चलाउनु जरुरी भइसकेको छ । 

नेकपाको सचिवालय शीर्ष नौ नेताको हो । तर, ओलीको कारिन्दा रहेका विष्णु रिमाल, सूर्य थापाहरुले बैठकमा भएको नभएको सबै कुरा उतारेर सञ्चारमाध्यममा पठाउने गरेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा नै टेप रेकर्डर राखिने गरिएको छ । कुन नेताले कति पटक पानी पिए, कसले कति पटक नाक कोट्याए भन्ने जस्ता जानकारी समेत लिएर सार्वजनिक प्रचार गरिएको छ । पार्टीको बैठकमा भएको छलफल तथा संवादलाई जस्ताको तस्तै बाहिर पठाउने खड्ग ओलीका सहयोगीलाई राज्यद्रोह तथा पार्टी द्रोहको मुद्दा चलाउन्ुपर्ने माग पनि उठेको छ । बैठक सकिँदा नसकिँदै प्रचार सामग्री बनाएर खड्ग ओलीको प्रेस सल्लाहकार रहेका सूर्य थापाले आफ्नै इमेलबाट प्रचार सामग्री पठाउने गरेका छन् । यस्तै, केहीलाई विष्णु रिमालको नाममा इमेल पठाउने गरिएको छ । उनीहरुले पठाएको इमेल तथा प्रचार सामग्री विभिन्न संचार माध्यमले सुरक्षित राखेका छन् ।

आफूले गलत तरिकाले बैठकमा नै टेप रेकर्डर राखेर प्रचार सामग्री पठाउने, तर पार्टीका कार्यकारी अध्यक्षले आधिकारिक रुपमा पेश गरेको दस्तावेज किन सार्वजनिक गरिस भन्दै हुर्मत लिने प्रयास गरिएको छ । आफूले गरेको अवैध काम जति सबै वैध, अरु नेताले गरेको काम जति सबै अवैध भन्ने मानसिकताका कारण ओली कहिल्यै पनि सुध्रन नसक्ने गरी पतन भइसकेको पुष्टि हुन्छ ।  पार्टी जीवनका हरेक गतिविधि गलत रुपमा सार्वजनिक गरेको तथा प्रचार प्रसार गरेका कारण ओलीमाथि अनुशासनको कारवाही गर्नुपर्ने माग पनि उठेको छ । ओलीले जुन उद्देश्य र नियतका साथ व्यवहार गर्दै आएका छन् । त्यसको खास औषधी भनेकै अब उनलाई विदाई गरेर बालकोट पठाउनु नै रहेको छ ।  नेकपा भित्र यतिबेला शीर्ष तहमा ओलीका पक्षमा देखिने कुनै पनि नेता पाउन मुस्किल नै भएको छ ।

सचिवालयमा कुनै पनि प्रस्ताव छलफल नै हुन सक्दैन भन्दै गलत दलिल पेश गरेका कारण उनलाई साथ दिएका भनिएका इश्वर पोखरेल पनि आजित भएका छन् । यस्तै, म त कुनै पनि मत राख्दिन भन्ने महासचिव विष्णु पौडेल पनि ओलीको यस्तै ताल हो भने अब बोकेर हिड्न सकिँदैन भन्ने अवस्थामा पुगेका छन् । पाँच भाई त पहिल्यैदेखि ओलीको विपक्षमा नै भइहाले । पाँचमा दुई जोडिँदा सात भए । गृहमन्त्रीको पद जान्छ भनेर ओलीको तावेदारी गरिरहेका रामबहादुर थापाको शैली राजेन्द्र महतोको भन्दा फरक छैन । जता बहुमत देखिन्छ, उतै उभिने उनको शैली देखिएकै छ ।

गृहमन्त्री भएपनि सबै निर्णय ईश्वर पोखरेलले गर्दा समेत अपमान भएको समेत नठान्ने, केवल पदमात्रै जोगाउन लागेको, मन्त्री भइरहनुपर्ने, कामको नाममा वरको सिन्को पर समेत नसारेपनि हुने बर्सदै नबर्सने बादल पनि अन्त्यमा ओलीविरुद्धको मोर्चामा सहभागी हुने निश्चित छ । सचिवालयमा ओलीको पक्षमा बोलिदिने, कुनै पनि मानिस भेटन मुस्किल नै भएको छ ।  यतिखेर ओली नै सर्वेसर्वा भएको ठान्नेमा ७० करोड भ्रष्टाचार गरेका गोकुल बाँस्कोटा, भक्तपुरमा बालुवा तस्करीमा रमाएका महेश बस्नेत, सांसद अपहरणमा संलग्न किशान श्रेष्ठ तथा ओलीले जे गरेपनि कति राम्रो गरेको है भन्दै कानूनी रफू भर्ने सुवास नेम्वाङ, नागरिकको स्वास्थ्य उपचारमा समेत भ्रष्टाचार गर्ने भानुभक्त ढकाल मात्रै रहेका छन् । यस्तै ओलीलाई बा भन्दै कानून हातमा लिने, चुल्ठे, मुन्द्रेहरु नै उनको पक्षमा रहेका छन् ।

देशभित्र जताततै भ्रष्टाचार बढेको छ । कोरोनाको परीक्षण रोकिएको छ । उपचार नपाएर नागरिक मरिरहेका छन् । जनतालाई कुनै राहतको प्रबन्ध छैन । बालुवाटारमा बसेर दैनिक जसो नै गुटबन्दी गरिएको छ । फरक मत राख्ने नेता तथा कार्यकर्तामाथि सरकारी सुराकी खटाइएको छ । देशको शान्ति सुरक्षाको विषयमा जानकारी राख्ने र सूचना संकलनमा परिचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजीले को–कोसँग भेटवार्ता गर्छन् भन्दै खोजबिन गर्न परिचालन गरिएको छ । 

राजनीतिक विश्लेषकहरु भन्छन् – यो भन्दा नाजायज र गैरजिम्मेवार चरित्र अरु के हुन सक्ला र ? त्यसकारण छिटो भन्दा छिटो ओलीलाई बिदाई गरेर, जनताको पक्षमा भटाभट निर्णय गर्ने ल्याकत राख्ने नेताको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । अब पनि बैठक सार्ने, बैठकमा आउदिन, बैठकको निर्णय मान्दिनँ, म नै स्टेट हो भन्ने मान्यता राख्ने खड्ग ओलीलाई तत्काल विदाई गर्नु नै मुलुकको राजनीतिक संकटबाट निकास पाउने काइदाको तरिका हो । जति ढिला भयो, त्यत्ति देश रसातलमा जान्छ । देश भड्खालोमा जान्छ ।