काठमाडौँ । मूल्यमा भइरहेको उतारचढावका कारण सुस्ताएको नेपाली सुन बजारलाई विवाहको लगनले राहत मिलेको छ । गत महिना शून्यसरह कारोबार मंसिरसँगै बढ्न थालेको छ । अहिले दैनिक १५ देखि २० किलोको हाराहारीमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । गत वर्षको मंसिरको तुलनामा भने कारोबार ५० प्रतिशत नै कमी रहेको उनको भनाइ छ ।
‘मंसिरमा बिहेको लगन हुने भएकाले चहलपहल र माग दुवै बढेको छ । गत वर्षको भन्दा यस वर्ष भने ५० प्रतिशतसम्म कम भएको अनुमान छ,’ शाक्यले भने ‘अहिले दैनिक १५र२० किलो कारोबार हुँदा भने केही राहत मिलेको छ ।’ कोभिड–१९ को महामारी र करिब तीन महिना लामो लकडाउनका कारण बजार सुस्त थियो । लगानी सुरक्षित गर्न लगानीकर्ताहरूले सुनमा लगानी गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ अस्वाभाविक रूपमा बढेको थियो । नेपाली बजारमा तोलाकै १ लाख रुपैयाँसम्म नाघेको थियो । मूल्यमा भइरहेको उत्तारचढावका कारण कारोबार दसैंतिहारका बेला पनि सन्तोषजनक हुन नसकेको व्यवसायी बताउँछन् । बिहेका लगनकै कारण बिस्तारै चहलपहल बढ्न थालेको विशाल बजारस्थित गणपति ज्वेलर्सका म्यानेजर श्रीराम पाठकले पनि स्विकारे ।
‘लगनमा सुन किन्नैपर्ने अवस्था भएर बजार तातेको हो,’ उनले भने, ‘यसले बजारमा माग बढाएको छ । गत महिनाको भन्दा कारोबार राम्रो छ ।’ सुन किनेर राखौं भन्नलाई नभई आवश्यक परेकैले मात्र किनिरहेको उनको भनाइ छ । वैशाख, साउन, भदौ, असोज र मंसिरलाई सुनको कारोबार बढी हुने महिना हुन् । यो समयमा बिहेको लगन अन्य समयभन्दा धेरै हुने गर्छन् । अहिले समग्रमा २५ प्रतिशत कारोबार भएको निष्कर्ष निकालिएको महासंघका पूर्वअध्यक्ष शाक्यले जानकारी दिए । ‘तिहारमा पनि राम्रो कारोबार भयो,’ उनले भने, ‘लकडाउनमा रोकिएका बिहे तिहारपछि धमाधम हुन थालेका छन् ।’ एक समय तोलाकै १ लाख ३ हजार रुपैयाँसम्म पुगेको सुनको कारोबो लकडाउनका कारण शून्य थियो ।
‘अहिले ९० हजार रुपैयाँसम्म आइपुगेकाले मानिसलाई सास फेर्ने सक्ने अवस्था भयो,’ उनले भने, ‘रोकिएको विवाह गर्नैपर्ने स्थितिले सुन बजार तातेको छ ।’ महासंघका अनुसार मंसिर १५ गते छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको थियो । मंसिर १८ गते भने छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि नेपालमा सुनको मूल्य साउन २३ गते अहिलेसम्मकै उच्च छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ थियो । महासंघले चैत १० मा सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकेको थियो । त्यति बेला सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेपछि मूल्य निर्धारण रोकियो । २०७७ जेठ २५ मा भाउ निर्धारण गर्दा एक्कासि बढेर तोलाको ८७ हजार ३ सय रुपैयाँ पुग्यो ।
कोभिड–१९ को बढ्दो संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता प्रभावित भएको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । त्यसैले लगानी सुरक्षित गर्न उनीहरू सुनतर्फ आकर्षित भएको उनको भनाइ छ । माग एक्कासि बढेपछि अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भयो । त्यसको असर नेपाली बजारमा पनि पर्यो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० मंसिर २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, दुई लाख नाघ्यो
सुनको मूल्य बढयो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ