गैँडा हेरेर कोरोनाको त्रास मेट्दै....

पत्रपत्रिकाबाट

विहीबार, १८ मंसिर २०७७, ०८ : ०८
गैँडा हेरेर कोरोनाको त्रास मेट्दै....

चितवन । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रासबाट मुक्त हुनका लागि मानिस प्रकृति र वन्यजन्तुसँग नजिक हुन थालेका छन् । पर्यटकको रौनक घरगाउँमा त्यति नरहेका बेला विश्वकै दुर्लभ एकसिङ्गे गैँडा हेर्न सौराहामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

काठमाडौँका मतिलाल श्रेष्ठले “घरभित्र कति डराएर बस्नु । दिक्दारी मेट्न परिवारसँग गैँडा हेर्न आएको” भन्नुभयो । उहाँजस्तै २० भन्दा बढी छुट्टाछुट्टै समूहले बुधबार सौराहा आएर प्रकृति र वन्यजन्तुसँगको सामीप्यता साटे । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद तिमल्सिनाले एकै दिन २६ वटा समूहले हात्ती सफारी गरेको जानकारी दिनुभयो । उहाँले दशैँपछि दिन एकै दिनमा ३९ वटासम्म हात्ती सफारी पुगेको सुनाउनुभयो । त्यस्तै जिप सफारी गर्ने आन्तरिक पर्यटकले सामुदायिक वनसँगै निकुञ्जभित्र पनि अवलोकन गर्न थालेका छन् ।

हात्ती चढेर बाघमारा र कुमरोज मध्यवर्र्ती सामुदायिक वनमा डुल्दै एकसिङ्गे गैँडाको अवलोकनले कोरोना त्रास र मानसिक तनाव कम गर्न प्रयास पर्यटकले गरिरहेका छन् । तीनवटा गैँडा देखेपछि फुरुङ्ग परेका पर्यटक अवलोकनपछि पनि जङ्गलमा खिचेका तस्बिरहरू नियाल्न व्यस्त भेटिए । सहकारीका अध्यक्ष ऋषि तिवारी हात्ती सफारी सौराहाको मात्र नभई मुलुककै आकर्षण र मुख्य विशेषताका रूपमा विश्वमा चिनिँदै आएको बताउनुभयो ।

मनोविद् नरेन्द्रसिंह ठगुन्नाले यसरी प्रकृतिसँग नजिक रहेर गरिएको घुमफिरले मानिसमा कोरोनाले पारेको तनाव र मानसिक समस्यासमेत धेरै हदसम्म कम हुने बताउनुभयो । अझ आक्कलझुक्कल सौराहाको सडकमै आइपुग्ने दुर्लभ गैँडा देख्दा पर्यटकका आँखामा दुर्लभ गैँडाजस्तै दुर्लभ खुसी झल्कन्थ्यो । गैँडा मात्रै होइनन् मृग, मयूर, बाँदर सुन्दर चराचुरुङ्गी, घडियाल गोही, जङ्गल सफारीका क्रममा पर्यटकले देख्न पाए ।
सङ्क्रमणबाट बच्ने उपाय अपनाएर सुरक्षित रूपमा हिँड्नु नै उत्तम विकल्प हो भन्ने बुझाइ सौराहा घुम्न आउनेहरूको छ । पर्यटन व्यवसायी रामशरण सिलवालले दूरी कायम गर्ने, ज्वरो नाप्ने, हात धुने, सेनिटाइजर लगाएर हिँड्ने अनि एक र अन्य पर्यटक धेरै घुलमिल नगर्ने जस्ता सचेतता अपनाइएको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस