‘गुणस्तरिय र शुद्ध पिउने पानी नगरवासीलाई उपलब्ध गराउन महानगर योजनाबद्ध ढङ्गले अगाडी बढेको छ’ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, ११ : ०४
‘गुणस्तरिय र शुद्ध पिउने पानी नगरवासीलाई उपलब्ध गराउन महानगर योजनाबद्ध ढङ्गले अगाडी बढेको छ’ : महानगर प्रमुख दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नगरवासीलाई गुणस्तरिय र शुद्ध पिउने पानी प्रदान गर्न महानगर योजनाबद्ध ढङ्गले अगाडी बढिरहेको बताएकी छन् । बुधबार भरतपुर महानगरपालिका वडा नम्बर ६ मा गितानगर खानेपानी आयोजनाको ओभरहेड टंयाकी निर्माणको शिलान्यास गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

उनले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको नैसर्गिक अधिकारको रूपमा लिएकोले बताउदैं सोहि बमोजिम महानगरपालिका र बोर्ड मार्फत काम अगाढी बढाइरहेको जानकारी दिइन् । उनले खानेपानीलाई व्यवस्थित गर्न पाइपलाइन विस्तार र आयोजनाहरूको बिस्तारमा सरोकारवाला निकायहरूसंग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिन् ।

भरतपुर खानेपानी बोर्डको अध्यक्ष समेत रहेकी प्रमुख दाहालले तोकिएकै समयमा गुणस्तरिय ढंगले योजना निर्माण सम्पन्न गर्न निर्माण ब्यवसायीलाइ आग्रह गर्दै प्राविधिक र उपभोक्ता समितिलाई सहजिकरण र गुणस्तर कायममा अनुगमन गर्न निर्देशन समेत दिएकी छन् । थुप्रै आयोजनाहरू अगाडी बढीरहेको उल्लेख गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा न ११ को जखडीमाइमा ८६ करोड रूपयाँको लागतमा खानेपानीको योजना निर्माण अन्तिम चरणमा पुगेको बताईन् । उनले वडा न १९ को शारदानगरमा १८ ,१९ र २० न वडाका स्थानियलाइ सेवा प्रवाह हुने गरी ८४ करोडको लागतमा अर्को आयोजना पनि संचालन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको जानकारी थिइन् ।

सोही कार्यक्रममा भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले भरतपुर खानेपानी बोर्डले भरतपुर महानगरपालिकाको वडा न १ देखी १६ सम्म ब्यवस्थित प्रणाली मार्फत शुद्ध पिउने पानी उपलब्ध गराइरहेको बताउदै अन्य स्थानमा समेत बिस्तारको काम अगाडी बढिरहेको बताए  । बोर्डले साना ठूला सबै आयोजना निर्माण गरिरहेको बताउदै उनले यो आयोजना पनि तोकिएकै समयमा गुणस्तरिय ढंगले निर्माण गरी खानेपानि सेवा प्रवाह निर्वाध रुपमाले संचालन हुने बताए । उनले बोर्डको तर्फबाट यस आयोजनालाइ गर्नुपर्ने आवश्यक सहयोग सम्पुर्ण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख सन्जय दासले गत आर्थिक बर्षमा डिप बोरिड्ग निर्माण सम्पन्न भैसकेका बताउदै यस आर्थिक बर्षमा सम्पन्न गर्ने गरी  १ करोड ४४ लाखको लागतमा ४ लाख ५० हजार लिटर क्षमताको पानी टंयाकी निर्माणको काम सुरू भएको बताए । उनले यो योजना निर्माणको जिम्मा कृपा कन्सट्रक्सनले १ बर्ष भित्रमा सक्नेगरी आगाडी बढाएको पनि जानकारी दिए । यस आयोजनाबाट वडा न ६ र यस वरपरका सेवाग्राहीहरू लाभान्बित हुनेछन् ।

गितानगर खानेपानी आयोजनाका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कोईरालाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेका थिए । भरतपुर महानगरपालिका क्षेत्र भित्र बोर्ड, आयोजना र उपभोक्ता समिति गरी महानगर क्षेत्र भित्र ८४ प्रतिशत शुद्ध र व्यवस्थित प्रणाली अन्तर्गत खानेपानीको  पहुँच पुगेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस