प्राकृतिक चिकित्सालयको निरीक्षणपछि स्वास्थ्यमन्त्री ढकालले भने– ‘अहिले महामारीबाट बचौँ, विकास पछि गरौँला’

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १५ : ४३
प्राकृतिक चिकित्सालयको निरीक्षणपछि स्वास्थ्यमन्त्री ढकालले भने– ‘अहिले महामारीबाट बचौँ, विकास पछि गरौँला’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताए । उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको दावी गरे । उनले भने, ‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा उभिएको छ, ।’ 

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार प्राकृतिक चिकित्सालयमा नै आइसोलेसन स्थापना गरिएको बताइन्। नब्बे जनाको क्षमता रहेको सो आइसोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनको भनाइ थियो । 

कार्यक्रममा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा हेमराज कोइराला लगायतले मन्तव्य दिएका थिए। आइसोलेशनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन् ।


 

प्रतिक्रिया दिनुहोस