कुरिलो किलोकै ५ हजार !

पत्रपत्रिकाबाट

सोमबार, १५ मंसिर २०७७, ०७ : २९
कुरिलो किलोकै ५ हजार !

काठमाडौँ । कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ । मागमा भएको अत्यधिक वृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य लिन थालेका छन् ।

‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ ।’ समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैयाँ (होलसेल मूल्य) थियो । असारमा प्रतिकिलो २ सय ४० देखि २ सय ६० रुपैयाँमा पाइन्थ्यो । साउनमा प्रतिकिलो २ सय ४० देखि ५ सय र भदौमा ३ सय ५० देखि ५ सय रुपैयाँ बजार भाउ थियो ।

यस्तै असोज १ देखि १२ गतेसम्म न्यूनतम मूल्य ४ सय ४० रुपैयाँदेखि ४ सय ५० सम्म रहेको समितिको तथ्यांक छ । समितिले कात्तिक ६ गते निर्धारण गरेको मूल्य भने प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँ छ । त्यसपछि मूल्य अपडेट गरिएको छैन । खुद्रा बजारमा दोब्बरभन्दा बढीमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभावकै कारण बढी मूल्य परेको जानकारी दिए । ‘कुरिलोमा औषधिको मात्रा बढी हुन्छ । बिरामी, सुत्केरीलाई खुवाउन भन्दै किन्ने बढी छन्,’ उनले भने, ‘यो बेला अफ सिजन भएकाले किलोकै ५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस