वामदेवले भने, ‘दुबै अध्यक्षलाई धन्यवाद’

सफल खबर संवाददाता

आइतबार, १४ मंसिर २०७७, १० : ५०
वामदेवले भने, ‘दुबै अध्यक्षलाई धन्यवाद’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र छलफल सुरु भएको भन्दै दुबै अध्यक्षलाई धन्यवाद दिएका छन् ।

सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि तत्काल आफ्नो विचार राख्न नसकेको भन्दै उपाध्यक्ष गौतमले बैठक र प्रक्रियाका सम्बन्धमा आइतबार आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले उपलब्ध गराएको गौतमको धारणा यस्तो छ,

“मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ । 

वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु । 

पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।”

प्रतिक्रिया दिनुहोस