चिनियाँ राजदुतको प्रष्ट सन्देश : ‘प्रधानमन्त्रीमा ओली नै रहनुपर्छ भन्ने छैन’

चिनियाँ राजदुतको नेकपाका दुई अध्यक्षलाई प्रश्न : नेकपामा किन अप्रिल (वैशाख) यता पटक –पटक विवाद दोहोरिरहेको छ ? चीन सकभर भाइचारा पार्टीका हिसाबले नेकपा नटुटोस भन्ने पक्षमा छ, तर सरकारमा को छन, रहनुपर्छ, पर्दैन भन्नेमा चीनको चासो रक्तिभर पनि छैन्

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, ०९ : ०६
चिनियाँ राजदुतको प्रष्ट सन्देश : ‘प्रधानमन्त्रीमा ओली नै रहनुपर्छ भन्ने छैन’

काठमाडौं । सत्तारुढ दल नेकपामा विवाद बल्झिरहदा चिनियाँ पक्षको चासो बढेको छ । १४ मंसिरमा चिनियाँ रक्षामन्त्री नेपालमा आउँदैछन् । यही बीच चिनियाँ राजदुत होउ यान्छीको सक्रियता पनि बढेको छ । राजनीतिक वृत्तमा कतिपयले नेकपाभित्रको विवादमा चिनीयाँ पक्षले हस्तक्षेपकारी भूमिका खेल्न थालेको टिप्पणी पनि गर्न थालेका छन् ।

२ मंसिरमा राती प्रधानमन्त्रीसँग भएको राजदुतको भेटवार्ता र सोमबार (८ मंसिरमा) पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग बिहान खुमलटारमा भएको भेटवार्ता यही विषयमा केन्द्रीत रहेको टिप्पणी पनि हुन थालेको छ । तर दुई देशका कम्युनिष्ट पार्टी बीचको भाइचारा सम्बन्ध रहेका कारण पार्टी विवादमा चासो राखेपनि चीनले यही गर्नुपर्छ, उसै गर्नुपर्छ भनेर यो पटक नभनेको नेताहरुको भनाई छ । चीनले नेपालको भाइचारा पार्टी कम्युनिष्ट पार्टीको एकतामा जोड पक्कै दिएको छ । तर उसले नेपालको स्थायित्व र स्थिरतामा जोड गरिरहेको छ । त्यो उसको आफ्नो स्वशासित तिब्बतको आन्तरिक सुरक्षाका दृष्टिले पनि भनिरहेको देखिन्छ ।

तर प्रधानमन्त्री ओलीलाई सरकारमा राखिरहेर नेकपाको एकता बचाउने विषयमा भने उसले कुनै पनि तहमा मुख खोलेको छैन् । चिनीयाँ दुतावास स्रोतका अनुसार, चीनले नेपालमा सरकारको प्रमुख प्रधानमन्त्रीमा ब्यक्ति को आउँछन्, को रहन्छन भन्नेमा कुनै चासो र चिन्ता ब्यक्त गरेको छैन्, तर नेपालका राजनीतिक पार्टीहरु विभाजन नहोऊन, देशमा स्थिरता र स्थायित्व कायम होस भन्ने मात्र अहिले चीनको चासो देखिन्छ ।  

प्रधानमन्त्री ओलीलाई गत मंसिर २ मा भेट गर्दा चिनियाँ राजदुतले राष्टपति सि जिनफिङ को पुस्तक दिएकी थिइन् । दुतावास स्रोत भन्छ, यसको प्रतिकात्मक अर्थ लाग्छ । त्यो हो, चीनमा कम्युनिष्ट पार्टीका प्रमुख सरकारको पनि प्रमुख छन्, अर्थात राष्ट्रपति छन । तर त्यहा कुनै विवाद छैन । ब्यक्तिगत अहममा उनले न पार्टी चलाएका छन्, न सरकार नै । सामुहिक छलफलकै आधारमा राष्ट्रपति सिले पार्टी र सरकार चलाएका छन् । पार्टीको निर्देशन र निर्णयका आधारमा सरकारका काम कारवाही अगाडी बढाएका छन् ।

तर नेपालमा नेकपाका दुई अध्यक्ष मध्येका एक सरकारको समेत नेतृत्व गरिरहेका छन् । पार्टीभित्रको सामुहिक छलफलका आधारमा भन्दा ब्यक्तिगत रुचीका आधारमा ओलीले सरकार चलाएका छन् । पार्टीलाई पनि गतिशिल बनाउन नदिई बन्धक बनाईरहेका छन् । यसले चिनियाँ पक्ष ओलीको कार्यशैली र ब्यवहारबाट चिढिएको छ । त्यसकारण पनि सरकार र पार्टी कसरी चलाउनु पर्छ भन्नेमा चिनियाँ राजदुतले सि जिनफिङको पुस्तक प्रधानमन्त्री ओलीलाई अध्ययन गर्न उपहार दिएर प्रतिकात्मक अर्थमा प्रधानमन्त्री र पार्टी अध्यक्ष कस्तो हुनुपर्छ भन्ने सन्देश दिन खोजेको अर्थमा बुझनुपर्ने चिनियाँ दुतावास स्रोतले भनेको छ ।

राजदुत यान्छीले प्रधानमन्त्रीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री समेत रहेका कारण पार्टी एकता जोगाउने दायित्व ओलीमा अलि बढी हुने भएकोले आवश्यक लचकता देखाएर पनि एकता जोगाउन अग्रसर हुनुपर्ने सन्देश भने दिएको स्रोत बताउँछ । उता प्रचण्डसँगको भेटमा पनि राजदुत यान्छीको भनाई उस्तै थियो । तर उनले प्रचण्डसँगको भेटमा सरकारको विषयमा प्रष्टै भनिदिएकी छिन्, –सरकारमा हाम्रो यही ब्यक्ति रहनुपर्छ, उही रहनुपर्छ भन्ने कुनै इन्टरप्रियर छैन् । त्यो तपाईहरुको आन्तरिक मामिला हो । तर पार्टी एकता सकभर भत्कन दिनु हुदैन् ।

राजदुत यान्छीले गत वैशाख, असार र फेरि पटक पटक नेकपाभित्र उही खाले विवाद किन आईरहेछ ? भन्ने बारेमा भने चासो ब्यक्त गरेको स्रोतले बताएको छ । प्रचण्डको जवाफ भने आफुहरु पार्टी एकता भत्कन दिने पक्षमा नरहेको र पार्टीमा अन्तरसंर्घषले नै स्पातिलो बनाएर लैजाने धारणा राखेको स्रोतको भनाई छ ।

१४ मंसिरमा चिनियाँ रक्षामन्त्री वेइ फेङवे नेपाल भ्रमणका लागि आउदैंछन् । धेरैले उनले के राजनीतिक सन्देश बोकेर ल्याउन सक्छन भनेर अनुमान लगाएका छन् । तर दुतावास स्रोतले बताए अनुसार, उनको सन्देश पनि उही हुनेछ, नेपालमा प्रधानमन्त्री को हुन्छन्, चीनलाई अहिले चासो छैन । ओली नै हुनुपर्छ भन्नेमा चीन कदापी छैन् । सकभर पार्टी एकता नटुटोस भन्नेमा भने चीन रहेको सन्देश फेङवेले राख्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस