‘दाउरा बेचेरमात्र हुँदैन, सामुदायिक वनलाई पर्यटनसँग जोडौँ’

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १४ : ५१
‘दाउरा बेचेरमात्र हुँदैन, सामुदायिक वनलाई पर्यटनसँग जोडौँ’

चितवन । कुनै बेला त्यसै खेर गएर फालिएका सामुदायिक वनका पाखापखेराहरु, तालतलैयाका छेउछाउहरु पर्यटक लोभ्याउने माध्यम बन्न सक्छन् भन्ने उदाहरण चितवनका धेरै सामुदायिक वनहरुले पस्किसकेका छन् ।

हिजोजस्तो काठदाउरा बेचेरमात्र अब सामुदायिक वनले विपन्न नागरिकको जीवनस्तर उकास्न सक्दैन, यसलाई पर्यटनसँग जोडेमा वनको आम्दानी दोब्बरले बढाउन सकिन्छ । वनमा पाइने वन्यजन्तु हेर्न र समूहमा पिकनिक खान आउने आन्तरिक पर्यटकलाई मात्र आकर्षित गर्न सक्यौ भनेमात्र पनि वनलाई अगाडि बढाउन सकिन्छ । 

यही सोचाइलाई मध्येनजर गर्दै भरतपुर ११ मा रहेको नवजागृति सामुदायिक वनले ‘नवजागृति वृहत फनपार्क’ (नवजागृति इको पार्क) निर्माणको कार्यआरम्भ गरेको छ । नवजागृति सामुदायिक वन उपभोक्ता समूह र भरतपुर महानगरपालिकाबाट विनियोजित बजेटबाट फनपार्क निर्माणको कार्यलाई अगाडि बढाइएको छ ।

वनका अध्यक्ष पुस्तकप्रसाद गौतमले वनको १९ औं साधारण सभा, पाँचौ परिषद् भेला तथा दसौँ अधिवेशनमा भने, ‘वनको आम्दानी बढाएर विपन्न नागरिकहरुको जीवनस्तर उकास्न यसलाई पर्यटन क्षेत्रसँग जोड्न आवश्यक छ, त्यही सोचाइले वनले फनपार्कको कार्यक्रम अगाडि बढाएको हो ।’

उनले अहिले कोभिड १९ को असरले पर्यटन क्षेत्र कमजोर भए पनि भोलि यो अवश्य उठ्नेछ, वनका हरेक पाखापखेरा, तालतलैया र यहाँका वन्यजन्तहरु पर्यटक आकर्षण गर्ने माध्यम हुनसक्छन् ।’ कार्यक्रमका प्रमुख अतिथि बागमती प्र्रदेशका सांसद विजय सुवेदीले वनलाई हराभरा बनाएर अघि बढ्न सक्नुपर्ने बताए । उनले भने, ‘वनको आम्दानी बढाउन पर्यटकीय गतिविधि सँगसँगै जडिबुटी लगाउनुपर्छ ।

गुर्जो, टिमुर, चिउरीलगायतका बिरुवा तथा जडिबुटी लगाएर विक्रीवितरण गरी वनको आर्थिक अवस्था मजबुद बढाउन सकिन्छ ।’ उनले वनको आर्थिक अवस्था पारदर्शी हुनुपर्ने, मनोमानी गर्न कसैलाई छूट दिन नहुने विषयमा पनि सजग गराएका थिए । प्रमुख अतिथिसमेत रहेको सांसद सुवेदीले भने, ‘सामुदायिक वनका प्रत्येक सदस्यले पाँच वटा बिरुवा हुर्काउन सक्यौ भने पनि वनको खाली जमिन हराभरा हुन्छ ।’

वरण्डाभार वन परिषदका कोषाध्यक्ष केशव थापाले मानिस राम्रो बन्न र रमाइलो गर्न जति पनि खर्च गर्छन्, यसमा खर्च गर्न कोही डराउँदैनन्, त्यसकारण वनमा रमाइलो गर्ने ठाउँहरु बनाउन्पर्छ । भरतपुर २ जलदेवी सामुदायिक वनका अध्यक्षसमेत रहेका थापाले जलदेवी सामुदायिक वनले पर्यटनसँग जोडेका गतिविधिहरु उल्लेख गरेका थिए । 

नेकपाका नेता तेजेन्द्रबहादुर खड्काले सबैको योगदानबाट वनका कार्यक्रमहरु अघि बढ्न सुझाव दिए । उनले भने, ‘विधि, विधान र प्रविधिमा वनलाई चलाइनुपर्छ ।’ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भरत ढुंगानाले नयाँ ढंगले बनलाई अघि बढाउन सुझाव दिएका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत बालकृष्ण खनाल, नेकपा ११ का वडाध्यक्ष प्रकाश आचार्य, राप्रपाका जगदिश अधिकारी, बुद्धिजीवी धनन्जय ढकाल, ज्ञानेन्द्र गिरीलगायतले वनलाई अगाडि बढाउन विभिन्न सुझावहरु दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस