बामदेव गौतमले ओलीलाई भने– पहिले तपाईं सच्चिनूस्, त्यसपछि प्रस्ताव सच्चिएला

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, १३ : ४५
बामदेव गौतमले ओलीलाई भने– पहिले तपाईं सच्चिनूस्, त्यसपछि प्रस्ताव सच्चिएला

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । पार्टीभित्र देखिएका समस्या झन्झन् बढ्दै गएर फुट्ने हो कि भन्ने आशंका ज्यादा भइरहेको बेला प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ । 

उपाध्यक्ष गौतम नेकपामा यस्तो पात्र बनेका छन्, सचिावलयमा उनी जता ढल्किन्छन्, उतै बहुमत पुग्छ । यसअघि प्रधानमन्त्री ओली कित्तामा देखिएका गौतम पछिल्लो समय प्रचण्ड, माधव समूहमा रहेका छन् । पार्टीमा देखिएको समस्या समाधान गर्न पहलकदमी लिन आग्रह गर्दै अध्यक्ष ओलीले गौतमसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा उपाध्यक्ष गौतमले ओलीलाई पटकपटक सच्चिएर अघि बढ्न सुझाव दिए । ‘पहिलो तपाइँ सच्चिनूस्, सचिवालय बैठकमा गल्ती स्वीकार गर्नूस् । यसो गर्नुभयो भने प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव त्यही बैठकमा गौण बन्न सक्छ, तर तपाईं सच्चिएर आउनुपर्छ’ गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो । गौतम र ओलीको भेटवार्तामा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । 

भेटवार्तामा उपाध्यक्ष गौतमले प्रचण्ड वा माधव नेपाललाई गाली गरेर समस्या समाधान नहुने झन् बढ्दै जाने बताएका थिए । प्रचण्डको मात्र प्रस्ताव नभएको भन्दै सचिवालयका पाँच नेताको प्रस्ताव भएको गौतमको जिकिर थियो ।  

गौतम र ओलीबीच धेरैबेर कुराकानी अध्यक्ष प्रचण्डले गत शुक्रबार बसेको सचिवालय बैठकमा पेश भएको प्रस्तावका बारेमा छलफल भएको थियो ।  खासगरी ओलीले प्रस्ताव फिर्ता लिने वातावरण बनाइदिन गौतमसँग आग्रह गरेका थिए । नेकपाको ९ सचिवालयमध्ये बहुमत पाँच सदस्यले प्रस्ताव लगेको हुनाले तपाइँ सच्चिए प्रस्ताव फिर्ता नभए पनि अघि नबढ्ने आसय गौतमले ओलीसमक्ष राखेका थिए । 

ओलीको प्रस्ताव फिर्ताको जवाफमा गौतमले भने, ‘प्रस्तावहरुमाथि बैठकमा छलफल गरौँ । यदि फिर्ता लिन मिल्ने भए त्यही बैठकमा लिनुस् भनेर प्रचण्डजीलाई भनौँला । तर त्यसमा प्रधानमन्त्री पनि सच्चिन जरुरी छ’, गौतमको भनाई उदृत गर्दै श्रोतले भन्यो, ‘प्रस्ताव सच्चिन त तपाइँ पहिला सच्चिन पर्छ । त्यसपछि प्रस्ताव सच्चिएला । 

प्रतिक्रिया दिनुहोस