श्रीमतीलाई एसिड प्रहार गर्ने पक्राउ

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, १४ : ३०
श्रीमतीलाई एसिड प्रहार गर्ने पक्राउ

जनकपुर । जनकपुरमा एक महिला माथि एसिड प्रहार भएको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगर बस्ने २६ वर्षीया आरती साहमाथि एसिड प्रहार भएको हो ।

एसिड प्रहारबाट घाइते आरतीको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा हुदैँछ । उनको मुहार र छातीको भाग एसिड प्रहारबाट जलेको  धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । प्रवक्ता समेत रहेका मिश्रले भने– ’एसिड प्रहारले उहाँको शरीरको २० प्रतिशत भाग जलेको छ ।’

प्रहरीका अनुसार युवतीमाथि एसिड प्रहार गर्ने युवक उनकै श्रीमान नै रहेको खुलेको छ । युवती माथी एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको जनाएको छ । एसिड प्रहार गरेको आरोपमा प्रहरीले जनकपुरधाम वडानम्बर २३ स्थित देवपुरा रुपैठा घर भई जनकपुरधाम वडा नम्बर ४ स्थित संकट मोचन स्कुल नजिक बसोबास गर्दै आएका २७ वर्षीय संजीव साहलाई पक्राउ गरेको हो । साह आरतीका श्रीमान रहेको प्रहरीले जनाएको छ ।

३ वर्षअघि विवाह गरेका संजीव र आरतीबीचको सम्बन्ध राम्रो नभएकाले आरती माइतीमा बस्दै आएकी थिईन् । पक्राउ परेका संजीवलाई केही बेरमा सार्वजनिक गरिने प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस