भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल, विद्यालयहरुले पाउँदैछन् बस

प्रकाश सिग्देल

सोमबार, २४ कार्तिक २०७७, १४ : ०१
भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल, विद्यालयहरुले पाउँदैछन् बस

चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुले आफूलाई निकै भाग्यमानी महसुस गरेका छन् । घरमा खाना पकाएर घरको काम गरेर हतारहतार गर्दै १ घन्टा लगाएर विद्यालय जानु पर्ने आफूलाई महानगरले साइकल प्रदान गर्दा धेरै भाग्यमानी महस्ुस गरेको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत लक्ष्मी बोटेले बताइन् ।

गरिबीको कारण साइकल किन्न पनि नसेकेको र घरमा काम गरेर विद्यालय जाँदा सधैँ पठनपाठनमा समस्या हुँदा पढाई निरन्तरतामा समस्या हुने गरेकोमा साइकल पाएपछि भने अब नियमित र समयमै विद्यालय जान सहज हुने उनको भनाइ छ ।

कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे पनि साइकल पाएपछि दंग छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी दंगसंगै खुसी छन् ।

घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने, भाईबहिनीलाई पनि डोर्याएर लानु पर्ने हुँदा साइकल नहुँदा निकै दुःख हुने गरेको उनी सुनाउँछिन् ।  अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने भाइबहिनीलाई पनि हालेर जान मिल्ने उनी बताउँछिन् । साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने उनको भनाइ छ । साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनीहरुको भनाइ थियो ।

उनीहरुजस्तै पश्चिम चितवनको ६ वटा वडाका १६२ जना छात्राहरुले आफूलाई निकै भाग्यमानी महसुस गरेका छन् । वडा नम्बर २६ को उमाबडी शेरचन आदर्श कलेजमा भरतपुर महानगरद्वारा आयोजित जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण कार्यक्रममा सहभागी किशोरीहरुले साइकल पाएपछि आफूलाई धेरै भाग्यमानी ठानेका हुन् । महानगरले १७, २४, २५, २६, २७ र २८ नम्बर वडाका विद्यालयका १६२ जनालाई महानगर प्रमुख रेनु दाहालको हातबाट साइकल वितरण गरेको हो ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।

 

जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।   


महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाइ छ । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् । विद्यालयहरुको शैक्षिक विकासका लागि स्कुल बस पनि प्रदान गर्न लागिएको उनको भनाइ छ ।  

महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए । महानगरको समग्र विकासका लागि मेयर दाहालसहितको सम्पूर्ण टिम निकै लागिपरेको र अझै धेरै राम्रा कार्यक्रमहरु बाँकी रहेको उनको भनाइ छ ।  

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर प्रमुख लागेको बताए ।  

पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने उनले बताए । अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको उनको भनाइ छ ।

वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलले  महानगर प्रमुख रेनु दाहालको सोचले नै विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण कार्यक्रम सफल भएको र आफ्नो क्षेत्रको विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन आफूहरु निरन्तर खटिएको बताए । 

वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले आफूले आफ्नो वडाको समग्र विकासमा मेयर दाहालसंग सहकार्य र सल्लाहमा धेरै काम गरेको बताए । आफूले अगाडि सारेका योजनामा मेयर दाहालले सधैँ सहयोग गर्ने गरेको बताउँदै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । 

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस