सुख दुःखमा साथ दिएको साथीबाटै मारिए युवक

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १४ : ०६
सुख दुःखमा साथ दिएको साथीबाटै मारिए युवक

मकवानपुर । २० वर्षका विकास वाइबा र उही उमेरका शंकर भन्ने भीमराज भोलन असाध्यै मिल्ने साथी हुन् । उनीहरु दुबै सहपाठी पनि हुन् । 

मकवानपुर बकैया गाउँपालिका–४ का यी दुई युवक प्रायः छुटिदैनथे । सँगै खाने र सुत्ने पनि गर्थे । दुबै जना एकअर्काको घरमा आउजाउ पनि गर्थे । उनीहरू सँगै बसेर चुरोट, गाँजालगायतका लागूऔषध पनि सेवन गर्थे। उनीहरूबीच राम्रो चिनजान थियो, गहिरो मित्रता थियो । सुख दुःखमा दुबैले एक अर्कालाई साथ दिँदै आएका थिए । छरछिमेकीहरु भन्ने गर्थे मित्रता त होस् त यस्तो ! विकास र शंकरको जस्तो । 

गत शुक्रबार उनै विकासको हत्या भयो । बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइबाको हत्याको सूचना मिडियाहरुमा छाउन थाल्यो । विकासको हत्या त उसकै असाध्यै मिल्ने साथी शंकर भन्ने भीमराज भोलनबाट भएको मकवानपुर प्रहरीबाट सार्वजनिक भयो ।

अन्ततः घटनाको दुई दिनपछि विकासको हत्या गर्ने शंकर भनिने भीमराज भोलनलाई प्रहरीले ललीतपुरबाट पक्राउ गरी सार्वजनिक गर्न सफल भएको छ ।  प्रहरीका अनुसार पटकपटक खुकुरी प्रहार गरी भोलनले विकासको हत्या गरेका हुन् । मकवानपुर प्रहरी कार्यालयले आइतबार भोलनलाई सार्वजनिक गरेको छ ।  

कसरी भयो हत्या ?
गत शुक्रबार दिउँसो शंकर विकासको घर पुगे। दुबै जना कुराकानी गर्दै खाजा खाए । खाजा खाएपछि उनीहरू घरबाट निस्किए। घर नजिकैको सिमाद खोलाको बगरस्थित फुटबल चौरमा पुगे । विकासका  भाइहरू फुटबल खेल्दै थिए भने उनकी हजुरआमा पनि त्यहीँ थिइन्।

शंकर र विकास त्यहाँ बसेर चुरोट ताने। चुरोट तान्नेक्रममा उनीहरूबीच विवाद भयो । विवाद गर्दौगर्दै शंकर भनिने भीमराज भोलनले एक्कासि खुकुरी निकालेर विकासमाथि पटकपटक प्रहार गरे । फुटबल खेलेका प्रत्यक्षदर्शीहरुले रोक्न सकेनन् । विकासका साना भाइहरु र हजुरआमाले गुमार माग्न थाले ।

खुकुरी प्रहार गर्ने भोलन फरार भए । मकवानपुर प्रहरीका अनुसार भोलनले विकासको हत्या गर्ने पूर्वयोजना नै बनाएका थिए। उनले घरबाटै खुकुरी बोकेर गएका थिए । ‘आवेगमा आएर होइन, हत्या हत्या नै गर्ने पूर्वयोजना बनाएको पाइयो’ प्रहरीको भनाइ छ । 

घटनापछि शंकर भागेर ललितपुर पुगेछन् । प्रहरीले खोजी कार्य तीव्र पारेर तस्बिरहरु सार्वजनिक गरेपछि ललितपुर बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंकरलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । मकवापुर प्रहरीले शंकरलाई ल्याएर आइतबार सार्वजनिक गरेको हो । 

मकवानपुर प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा विकासले शंकरलाई होच्याउने गरेको कारणले हत्या गरेको बयान दिएका छन्। उनीमाथि प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस