अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

रासस

शनिबार, २२ कार्तिक २०७७, १४ : ०१
अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

फाइल तस्विर

सिमकोट । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् । प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि उनी हुम्ला पुगेका हुन् । 

जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझ्न आफू हुम्ला आएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । प्रदेशबाट आएका कार्यक्रमको प्रगति भए नभएको अवस्थाबारे बुझ्न र दुर्गम जिल्लामा दिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको भरमा जिम्मा लगाउने रोग पुरानै भएकाले यसको अन्त्य गरीने मुख्यमन्त्री शाहीले बताए । 

सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा विकासका लागि विनियोजन गरिएको बजेटले केही काम नगर्ने मुख्यमन्त्री शाहीले बताए । 

हुम्लाका नेकपाका पार्टी कार्यकर्तासँग अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्यक्रम रहेको मुख्यमन्त्रीका सचिवालयका सदस्य लोकेन्द्र शाहीले जानकारी दिए । हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमी लाप्चा क्षेत्रको स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस