मदिराले मातेर जर्बजस्ती बलात्कार गर्ने वडासचिव कारागार चलान

रासस

मंगलबार, १८ कार्तिक २०७७, ०८ : ३४
मदिराले मातेर जर्बजस्ती बलात्कार गर्ने वडासचिव कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो ।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ । जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो । यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो ।

जिल्लामा जारी चालु आर्थिक वर्ष २०७७र७८ मा यस प्रकृतिका घटना ह्वात्तै बढेका छन् । चालु आवको प्रथम चौमासिक अवधिमै हालसम्म २१ वटा जबर्जस्ती करणी र तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो सङ्ख्या गत आव २०७६–७७ को तुलनामा निकै बढी हो । गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी र सात करणी उद्योगका घटना दर्ता थिए । यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिका आपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट ले बताए । 

प्रतिक्रिया दिनुहोस