पुरानो मेडिकल कलेजमा वृद्ध सङ्क्रमितको मृत्यु

रासस

आइतबार, १६ कार्तिक २०७७, १३ : ५६
पुरानो मेडिकल कलेजमा वृद्ध सङ्क्रमितको मृत्यु

सांकेतिक तस्विर

चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उहाँमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ  ।

निःशुल्क आकस्मिक सेवा शुरु

भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार, भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न बैठकले आजदेखि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको थियो ।

आकस्मिक उपचार सेवा लिन आउँदा उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही पनि नभएका सेवाग्राहीहरु, तेस्रो व्यक्तिले ल्याएका सेवाग्राही वा बेवारिसे यो सेवाले लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ । 

प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवाअन्तर्गत आकस्मिक घटना वा आपत्कालीन अवस्थामा बिरामीको जीवन वा अङ्ग जोखिममुक्त गरी बिरामीलाई स्थिर बनाउन, तत्काल दिनुपर्ने अत्यावश्यक औषधि, उपचार र निदानात्मक सेवा निःशुल्क प्रदान गरिने छ ।

मौलिक हक र कर्तव्यअन्तर्गत स्वास्थ्यसम्बन्धी हकले प्रत्याभूत गरेको आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्थालाई जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४ बमोजिम र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी गरिब तथा विपन्न वर्गलाई अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो ।  

प्रतिक्रिया दिनुहोस