कविता : कोरोनालाई नजिकैबाट छाम्दा

बुधबार, १२ कार्तिक २०७७, १३ : ३४
कविता : कोरोनालाई नजिकैबाट छाम्दा

– डा. भोजराज अधिकारी
चाइनाको शहर उहानमा जन्मदा बिरानो दुनियाँको कहर भयौ तिमी
कोभिडको नाममा सर्प, चमेरा वा कुनै जन्तुको झड्केलो उत्पत्ति भनियौ तिमी।
मान्छेबाट मान्छेको फोक्सो सेताम्य चुना लगाएर मृत्यु शैया लाने तिम्रो बानी,
'पाण्डेमिक' बनेर तीन महिनामै विश्व लकडाउन गर्ने अदृश्य तिम्रो कहानी।।

लाग्यौ युरोप र अमेरिकातिर तिमी, सभ्यता र विकास माथि कालोमोसो लगाउन
चिहान बनायौ शक्ति र विज्ञानलाई, अलपत्र शव, न दियौ गाड्न, न जलाउन । 
एक जनाबाट साढे चार करोड लाई छोयौ, एक जनाबाट एघार लाख अलप, मार्‍यौ मानवताको मन
पिडा, बिछोड, कोकोहोलो र एकान्तबासको सिँगो जेल बनायौ, कारुणीक भयो विश्वको जनधन ।।

तैपनि सोच्थें,
मबाट हजारौँ माइल टाढा छौ, लाग्थ्यो गोरखालीसँग तिमी थररर काँप्दछौ,
सिँगो भारतको सिँह बिरालोको रोदनमा हुँदा, लाग्थ्यो तिमी गौतम बुद्ध र सगरमाथा सँग डर्दछौ ।
तर ,
विडम्वना तिमी आयौ, कसैलाई छोयौ, कसैलाई टिप्यौ, कसैलाई रुवायौ
तिम्रो छद्मभेषी रुपले, न भ्याक्सिन, न औषधि, मन खोक्रो र रित्तो बनायौ ।।

तिमी अझै नजिक आयौ, मेरो शरीरको र‍्याल र सिँगानको सँगी बनेर,
महादेश, देश, जिल्ला, घर र अन्तयमा मेरै सासको हिस्सा बनेर ।
अबका केहि दिन उराठ र पट्यारीलो होला, होला सित युद्ध तिमीसँग,
तैपनि मेरो अँगको अँगी बनेर समाहित छौ तिमी, सिकायतमै आइसोलेसन, तिमी सँगै उठबस ।।

हेरौँ, 
मलाई 'गेट वेल सुन' का गुञ्जन र दशैकोे शक्ति आर्शिवादको बीच तिमी के छेद गर्न सक्छौ
मलाई विश्वास छ , आत्मवलको मेरो कसीमा तिमी छिट्टै 'सरी' मात्र भन्न सक्छौ ।
त्यो दिन अवश्य आउँछ, तिमी मलाई छोडेर अन्तै यात्रा मोड्नेछौ
पराजयको स्वाद चाखेर, दश दिनको मितेरी भुलाउँदै, दुनियाँसँग फेरी मलाई मिलाउनेछौ ।।

आजा तिमी मलाई छाम्दै छौ, म तिमी लाई झुक्याउँदैछु
छिट्टै तिमी बहिस्कृत हुन्छौ, म तिम्रो नजरबाट अजेय हुन्छु ।
तिमी सँग अनुहार मिल्ने थुँगाथुँगाको कोरोना नेगेटिभले उनेको माला लगाउने छु 
मेरो बिश्राममा रहेको सेतो कोट ट्कट्काएर फेरी दुखेको मुटुमा मलम लगाउन म सेवामा निस्कने छु ।।
म सेवामा निस्कने छु ।।

प्रतिक्रिया दिनुहोस