यो वर्ष कोरोनाले निलेको पिङ संस्कृति : अर्को वर्ष नहराओस्

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ३५
यो वर्ष कोरोनाले निलेको पिङ संस्कृति : अर्को वर्ष नहराओस्

file-photo

चितवन । चितवनको जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गर्दै भन्यो– ‘कोरोना भारइसका प्रकोप फैलिरहेको हुनाले यस वर्ष भीडभाड हुने कुनै पनि  कार्यक्रम नगरौँ । सार्वजनिक ठाउँमा पिङ नहालौँ ।’

दसैँ तिहारको समयमा पिङ हाल्ने र खेल्ने हाम्रो मौलिक संस्कृति हो । यसपटक कोरोनाको कहरले हामीले हाम्रो संस्कृति पनि जगेर्ना गर्न पाएनौँ । यस वर्ष न गाउँ, न सहर कतै पनि पिङ हालेको देखिदैन । ‘विगतका वर्षहरुमा चितवनका विभिन्न ठाउँमा लिङ्गे पिङ देखिन्थ्यो, अहिले कोरोनाको कहरले पिङ नहाल्न प्रशासनले सूचना जारी गरेपछि पिङ हालिएको छैन’ भरतपुर १२ का स्थानीय कमल खनालले भने, ‘कोरोनाले यस पटकको पिङ संस्कृति हराएको जस्तो भएको छ, अर्को वर्ष पिङ संस्कृति फेरि जताततै देख्न पाइयोस् ।’

उनका अनुसार गाउँदेखि ठूला शहरबजारमा दसैँ आउनु केही समयअघिदेखि नै पिङ हालेर खेलिने मौलिक परम्परा हो । यसवर्ष चितवन प्रशासनले भीडभाड हुने खालका गतिविधिमा रोक लगाएपछि चितवनका गाउँगाउँमा पनि पिङ देख्रिएको छैन । पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको मौलिक संस्कृतिलाई यस वर्ष कोरोनालो झन् निलेको छ ।  

‘यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ पनि हालिएन’ भरतपुर २५ का विष्णु कँडेलले भने, ‘अहिले कोरोनाले हराएको हो पिङ, कोरोनाको कहर नरहेको खण्डमा अर्को वर्ष पिङ हालेर हाम्रो मौलिक संस्कृति जोगाउनुपर्छ ।’ उनको भनाइअनुसार विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थालिन्थ्यो, यसपटक दसैँ नै घरभित्र मनाउनू भनेपछि पिङ संस्कृतिसमेत जोगाउन पाइएन ।

समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको बेलामा यो वर्ष कोरोनाले झन संस्कृति जगेर्नामा समेत असर पारेको उनी बताउँछन् । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वासलाई कोरोना भाइरसले असर पारेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो वर्ष कोरोनाले हराएको पिङ संस्कृति अर्को वर्ष पुनः फर्कनुपर्छ ।’ 

विगतमा चितवनका विभिन्न गाउँगाउँमा लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो, यो वर्ष कोरोनाको कहरका कारण पिङ हाल्न रोक लगाइएको हो । अहिले सार्वजनिक ठाउँमा पिङमात्र नभई अन्य भीडभाडका कार्यक्रम गर्न पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।  यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर पनि स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न सकेनन् ।    

सरकारले पनि दसैँको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दसैँ मनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस