बाँकेमा कोरोनाबाट युवकको मृत्यु

रासस

बुधबार, ०५ कार्तिक २०७७, २१ : १८
बाँकेमा कोरोनाबाट युवकको मृत्यु

फाईल तस्वीर

काठमाडौं । बाँकेमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट कञ्चनपुर बेलाडी—५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो ।  उनलाई गत असोज ३० गते थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो । कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाब संकलन गरिएको थियो । 

त्यसैदिन उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभपछि सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको  श्रेष्ठले बताउनुभयो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १५ जनाको कोरोनााट मृत्यु भइसकेको छ ।

यसैबीच बाँकेमा आजै ५२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१  महिला कोरोनामुक्त भई घर फर्केका हुन् । यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या दुई हजार २२७ पुगेको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।