चितवनमा तीन महिनामै ८३ दुर्घटना, २० जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १७ : २५
चितवनमा तीन महिनामै ८३ दुर्घटना, २० जनाको मृत्यु

चितवन । दुर्घटना बढी हुने जिल्लामा पर्छ चितवन । देशकै मध्येभागमा रहेको चितवन पूर्वपश्चिम राजमार्गको मिडप्वाइन्टमा पर्छ । काठमाडौँ छिर्ने मूख्य प्रवेशद्वारको रुपमा पनि चितवनलाई लिइन्छ । चितवनमा यस आर्थिक वर्षको तीन महिनामा ८३ दुर्घटना भएका छन् । 

यहाँ सवारी दुर्घटनाबाट यस आर्थिक वर्ष ०७७ र ७८ को तीन महिनामा २० जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । । ८३ वटा दुर्घटना हुँदा १४४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार सवारी दुर्घटनाबाट साउनमा आठ जना, भदौमा तीन जना र असोजमा नौ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी असोजमा ३६ वटा दुर्घटना भए भने साउनमा २८ र भदौमा १९ वटा दुर्घटना भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । 

गत आव ०७६ र ७७ को पहिलो तीन महिनामा सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको थियो भने ४७ जना गम्भीर घाइते भएका थिए । त्यस अवधिमा ८१ वटा मात्र सवारी दुर्घटना भएका थिए । मृतक संख्या घटे पनि पछिल्लो तीन महिनालाईमात्र हेर्दा लकडाउनमा पनि दुर्घटना घटेको देखिदैन । लकडाउन र निषेधाज्ञा हुँदासमेत दुर्घटनामा कमी नआएको देखियो । 

गत आर्थिक वर्ष २०७६ र ७७ मा चितवनमा २६१ वटा सवारी दुर्घटना भएका छन् । जसबाट १०७ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट १६५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पुरूष ८८, महिला १४ र बालक पाँच जना रहेका छन् । अघिल्लो आव २०७५ र ७६ मा २९५ वटा दुर्घटना हुँदा १४६ जनाको मृत्यु भएको थियो ।

यद्यपी चैतदेखि असारसम्मको लकडाउनका बीच पनि दुर्घटनाबाट १४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क छ । 
सवारी दुर्घटना हुनेमा मोटरसाइकल बढी छन् । गत आवमा १७९ मोटरसाइकल सवारी दुर्घटनामा परे । त्यस्तै, ६८ जीप रकार, ७० ट्रक र ट्याङ्कर, ३४ बस र चार टिप्पर दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट दुई करोड ५० लाख ५९ हजार रूपैयाँको भौतिक क्षति समेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन, तीव्र गति र लेन अनुशासन पालना नगर्नु हो । मानिसमा ट्राफिक सचेतना अभिवृद्धि नहुँदासम्म दुर्घटना न्यूनीकरण हुन नसक्ने प्रहरीको भनाइ छ ।