रौतहटमा आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १८ : ३५
रौतहटमा आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

रौतहट । असोज १६ गते साँझ उखु खेतमा मृत भेटिएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ ।  प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४५ वर्षीय चुनु शाह तेलीलाई पक्राउ गरेको छ ।

असोज १६ गते शुक्रबार बिहान नौं बजे  बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् । सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो । 

उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए । पछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको खुलेको छ । बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन् ।

चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । उनका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । 

तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन् । उनीमाथि रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता प्रसाईंको भनाइ छ ।