अस्तायो लकडाउन, सुस्तायो दसैँको व्यापार

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, ११ : ०६
अस्तायो लकडाउन, सुस्तायो दसैँको व्यापार

चितवन । लकडाउन खुले पनि चितवनमा दसैँको व्यापार सुस्ताएको छ । बजारमा चहलपहल बढी छ, तर व्यापार भने हुन सकिरहेको छैन । 

सिनेमा हल, हाटबजार, मेला तथा महोत्सवहरुलाई निषेध गरे पनि बजारको अन्य क्षेत्र सबै खुला गरिएको छ । दसैँ मुखमा आइसक्दा पनि बजारमा व्यापार अन्यन्तै मन्द गतिमा छ । पसल खुले पनि ग्राहक नआएको व्यवसायीहरुको गुनासो छ । 

‘दसैँ मुखमा आइसक्यो, व्यापार ज्यादै सुस्त गतिमा रहेको छ, मानिसहरु बजारसम्म अझै किनमेल गर्न आउन सकेका छैनन्’ फेन्सी व्यवसायी संघका पूर्वअध्यक्ष बालकृष्ण कँडेलले भने, ‘गत वर्षको दसैँको मुखमा भएको व्यापारको ३० प्रतिशत पनि व्यापार छैन अहिले ।’

उनका अनुसार लकडाउन खुले पनि व्यापार सोचेजस्तो नहुँदा व्यवसायीहरु चिन्तित छन् । उनले भने, ‘फेरि लकडाउन हुने भन्ने हल्ला व्यापक छ, व्यवसायीहरु डराएर लगानी गर्न सकेका छैनन्, भएको लगानी पनि उठ्न सक्ने सम्भावना छैन ।’

यतिबेला व्यवसायीहरु त्रासमा रहेको उनी बताउँछन् । उनले भने, ‘घटस्थापनादेखि व्यापारको अवस्था कस्तो हुन्छ, त्यो हेर्न बाँकी रहेको छ, तर हिजोआजको जस्तो व्यापार भयो भने व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्छन् ।’ 

उनले दसैँको लागि ल्याइएका कपडाहरु विक्री नभएर रहन सक्ने बताए । उनले भने, ‘एक महिनामा अब जाडो लाग्छ, गर्मीमा हालिएका कपडाहरु विक्री हुन सकेनन्, जसले गर्दा व्यवसायीहरु थप मारमा परेका छन् ।’ 

आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको व्यवसायीहरुको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको हो । 

फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल पहिलेको तुलनामा व्यापार आधाभन्दा बढी घटेको बताए । उनले भने, ‘दसैँ मुखमा आइसक्दा पनि सोचेजस्तो व्यापार छैन, मानिसहरु किन्न आउन डराइरहेका छन् ।’ 

व्यवसायीहरुका अनुसार गाउँबाट मानिसहरु चितवनका बजारमा आउन सकेका छैनन् । विभिन्न जिल्लाबाट चितवनको बजारमा किनमेल गर्न मानिसहरु आउन सकिरहेका छैनन् । 

कोरोनाको डर एकातर्फ, अर्कोतर्फ क्रयशक्ति नै घट्यो, जसका कारण व्यापार नै छैन । चितवन जिल्लामा फेन्सीमात्र पाँच हजारभन्दा बढी छन्, जसमा १५ अर्बभन्दा बढी लगानी भएको छ ।