कोरोना भाइरस (कोभिड–१९)

नेपालमा कोरोना संक्रमण चौथो चरणमा : डा. मरासिनी

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १७ : १३
नेपालमा कोरोना संक्रमण चौथो चरणमा : डा. मरासिनी

काठमाडौँ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताएका छन् ।

पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीले बताए । 

भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दापनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताए । काठमाडौं उपत्यकाभित्रका सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उनले बताए । 

सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको उनले स्पस्ट पारे । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको उनले बताए । 

सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यावहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको उनको टिप्पणी छ । उनले कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको उनले बताए । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताए । 

सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९÷१० दिन सम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पु¥याएको उनको भनाई छ ।

तीन दिनमा ११ हजार संक्रमित
  
पछिल्लो तीन दिनयताको संक्रमणको स्थिति हेर्ने हो भने डा. मरासिनीको कुरालाई पुष्टि गरेको छ । गत शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए । आइतबार २ हजार ७१ जना मानिसमा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन् । 

सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएका छन् । सोमबार नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । यसरी दिनप्रतिदिन संक्रमणको दर बढ्दै जानुले संक्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस