कहिले रोकिएला खै वायुसेवा निगमभित्रको ब्रह्मलुट ? यस्तो छ निगमसँगको ‘दराज कनेक्सन’

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १२ : १६
कहिले रोकिएला खै वायुसेवा निगमभित्रको ब्रह्मलुट ? यस्तो छ निगमसँगको ‘दराज कनेक्सन’

फाइल फोटो

काठमाडौँ । नेपाल वायु सेवा निगमभित्र भएको जहाज थन्क्याउने, बिगार्ने तथा कौडीको भाउमा आफ्नो स्वार्थ समूहलाई बिक्री गर्ने काम विगतदेखि नै हुँदै आएको हो । कुनै समय नेपालको चन्द्र सूर्य अंकित झण्डा बोकेर यूरोपसम्म उड्ने जहाजलाई कौडीको भाउमा बिक्री गरियो । भएका जहाज बिगारियो । केही नभएका जहाजलाई समेत चल्दैन भनेर थन्क्याएर राखियो । निगमको सम्पत्तिमाथि एक हिसाबले त ब्रह्मलुट नै गरियो । 

यस्तो काममा सरकार, सरकारका रहेका पार्टी, तिनका आसेपासे सबै लागे । नेपालको इतिहासमा धमिजा काण्ड, चाइना साउथ वेस्टर्न काण्ड तथा लाउडा काण्ड चर्चित छ । अदालत मिलाइयो, अख्तियार मिलाइयो र आर्थिक अपराधमा जोडिएकालाई दिनदहाडै छाडियो । एकाध साना तहका कर्मचारीलाई दोषी देखाएर लाउडा प्रकरणमा सुजाता कोइरालाहरुलाई चोख्याइयो ।  अन्य काण्डका दोषीलाई समेत त्यसैगरी चोख्याउने काम गरियो । शक्ति र प्रभावका कारण निमुखाहरु परे, दोषीहरु उम्किए । 

नेपाली जनताले तिरेको करको सदुपयोग भएको भए थाइ एयरलाइन्ससँगै शुरु भएको नेपाल वायु सेवा निगमका पनि अहिले सयभन्दा बढी जहाज हुन्थे । संसारका जुनसुैक देशमा पनि सहजै उडान हुन सक्थ्यो । तर भएभरका सबै सम्पत्तिमाथि रजाईँ गरेर विमानका टायर समेत चोरेर बिक्री गरिएको इतिहास नेपाल वायु सेवा निगममा रहेको छ । कहिले केबी लिम्बुहरुले निगमलाई धरासायी बनाए । सधै झगडा, सधै मारामारको अवस्था आइप¥यो । पछिल्लो दिनमा मदन खरेलहरु पनि सोही तरिकाले आए, निगमलाई डुबाएर गए । 

बल्लबल्ल बचेको र साख मात्रै धानेको निगमलाई धरासायी बनाउन यतिखेर यति समूह, आफूलाई कर्मचारी प्रशासनमा अब्बल दावी गरेका सुशील घिमिरे तथा यति समूहका कारिन्दाहरु लागिपरेका छन् । यहाँ त्यसैको एउटा उदाहरण प्रस्तुत गर्ने जर्मको गरिएको छ ।

निगमसँगको ‘दराज कनेक्सन’ 

पछिल्ला दिनमा निगमका अपरेशन डाइरेक्टर रहेका दिपु जुहारचनले निगमलाई कमाई खाने भाँडो बनाएका छन् । उनले निगमका कर्मचारीलाई एक विदेशी कम्पनीको सेवा गर्न लगाएका छन् । नमान्नेलाई जागिरबाट हटाएका छन् । नेपालमा खराब परिचय बनाएको अनलाइन सपिङ साइट दराजले नेपाल वायुसेवा निगमका एयरहोस्टेसलाई प्रयोग गरेर नेपाल ल्याइएको सामान बिक्री गरेको पाइएको छ । दराजका नेपाली साझेदार र दिपु जुहारचनबीच असाध्यै राम्रो सम्बन्ध रहेको छ । सोही सम्बन्धलाई उपयोग गर्दै उनीहरुले निगमका कर्मचारीलाई भरिया बनाएका छन् भने त्यसरी आउने सामानलाई पनि गलत तरिकाले बिक्री वितरण गरिएको छ । 

कर्मचारीलाई भरिया बनाएर सामान ल्याएको र त्यसमा अपरेशन डाइरेक्टर जुहारचन समेत संलग्न भएको पाइएपछि यस बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आयोगले किन कारवाही नगर्ने भन्दै पत्र काटेको बताइन्छ । अख्तियारले पत्र काटेपछि मात्रै यो विषयमा जोडिएको प्रकरण बाहिर आएको हो ।  भन्सार छलेर कस्मेटिक सामग्री नेपाल ल्याई दराजमार्फत बिक्री गर्ने गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो । आयोगका एक छानबनि अधिकृतले भने, ‘अपरेशन प्रमुख रहेका दिपु जुहारचनको निर्देशनमा नै यी काम भएको देखिएको छ ।’ 

सरकारी संस्थानको उच्च पदमा रहेका दिपु जुहारचनले यति समूह र दराजका लागि काम गरेको तथ्य सार्वजनिक भएपछि अख्तियारले सांगोपांगो नै पत्ता लगाउन लागिपरेको छ । जानकारहरुका अनुसार उनले नै निगमको एयरबस ३२० तथा ३३० मा कार्यरत एयरहोस्टेज दिदी बहिनी प्रजिता र प्रदा कार्की तथा र करिश्मा मालाकारलाई प्रयोग गरेर विदेशबाट भन्सार छलेर सामान ल्याउन लगाउने गरेको पाइएको छ । अख्तियारका अनुसार उनीहरुले  विगत ४ वर्षदेखि ‘ब्रान्ड डिल’ नामक कम्पनीको नामबाट दराजमा सामग्री बिक्री गर्दै आएको प्रमाण समेत फेला परेको छ । 

अख्तियारको चासोपछि उनीहरुले दराजमा फोन गर्दै कारोबारको विवरण लुकाएको छ वा छैन भन्दै चासो व्यक्त गरेका थिए । अख्तियारले जुहारचनलाई समेत उपस्थितीका लागि पत्र काटेपछि उनैले नै कार्की दिदीबहिनी र मालाकारलाई तत्काल भाइरबमार्फत कल गरेर दराजको विवरणबारे बुझ्न भनेका थिए । उनीहरुले दराजका प्रतिनिधिलाई आफूहरुको कम्पनीको नाम समेत हटाइदिन भनेको दराजका एक उच्च कर्मचारीले जानकारी दिए । 

उनीहरुको विषयमा अख्तियारले छानविन सुरु गरेपछि हाल दराजमा उक्त सामग्री बिक्री भएको छैन भने दराजमा हालसम्म भएका कारोबारको विवरण बन्द गर्न उनीहरुले दबाब दिँदै आएको बताइएको छ । अख्तियारमा परेको उजुरीका आधारमा एयरहोस्टेस मालाकारले सामाजिक सञ्जाल फेसबुकमा नै ब्राण्ड डिलको फाउन्डर रहेको समेत लेखेकी छिन् । त्यसमा दिपु जुहारचनले नै कयौ पटक शेयर गरेका छन् । उक्त ब्राण्डको फेसबुक पेजमा नै दराजमार्फत बिक्री हुने उल्लेख गरिएको छ । जसरी भएपनि पैसा कमाउने ध्येयका साथ दिपु जुहारचनको आइडियमा नै उनीहरुले त्यस्तो काम गरेको बताइन्छ । 

अख्तियारका परेको उजुरीमाका उनीहरुमाथि भन्सार पास बिना नै सौन्दर्यका सामान नेपाल भित्र्याएर अनलाइन सपिङ साइट दराजमार्फत बिक्री गरेको पाइएको उल्लेख छ । जानकारहरुका अनुसार दिपु जुहारचनको खास मान्छेका रुपमा चिनिने कार्की दिदीबहिनी र मालाकारले यसअघि आफ्ना सहकर्मीलाई सामाजिक सञ्जालमार्फत धम्क्याएको, गुण्डा लगाएर सिध्याइदिने धम्की दिएका कारण महिला प्रहरी सेल ललितपुरमा समेत उजुरी परेपछि पक्राउ गरिएको थियो । 

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहारचनले भने आफूलाई यसबारेमा थाहा नभएको बताउने गरेका छन् । अख्तियारले पत्र काटेपछि निगममा हंगामा भएको छ । निगम अध्यक्ष सुशील घिमिरेले जुहारचनलाई बोलाएर सोधेका थिए । उल्टै जुहारचनले अध्यक्ष घिमिरेलाई समेत आफ्नो थन्कोमा बस्न भन्दै धम्की दिएको अध्यक्षको सचिवालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए । 

अध्यक्षसँग आक्रामकरुपमा प्रस्तुत भएका जुहारचनलाई विजय लामा र थकाली समूहले बोकेको छ । उनी कोही कसैलाई पनि नटेर्ने स्वभावका छन् । उनले निगम परिसरमा नै आफू यति समूहको मान्छे भएकाले प्रधानमन्त्रीसँग सोझै सम्पर्क रहेको बताउने गरेका छन् । 

अख्तियारबाट पत्र आएको हो भन्ने प्रश्न गर्न हामीले पटकपटक गरेको फोन समेत उनले उठाएनन् । पछि म्यासेज नै पठाएपछि उनले फोन उठाए । तपाईँलाई त किन कारवाही नगर्ने भनेर अख्तियारले पत्र नै काटेको रहेछ नि होइन ? भन्दा उनी केही समय चुप लागे  । पछि कसले भनेको भन्दै  केही समय चर्का कुरा गर्न थाले । कार्की दिदीबहिनी र मालाकारसँग तपाईँको के सम्बन्ध हो भनेर सोधेपछि मात्रै बल्ल उनी लाइनमा आए । 

उनले अख्तियारले छानविन गरेको कुरा पर्यटन मन्त्रालयबाट पत्र आएपछि थाहा भएको बल्ल बताए । उनले उक्त प्रकरण धेरै अगाडिको विषय भएको बताए । आफूसँग उनीहरुको खास केही सम्बन्ध नभएको र उनीहरुलाई बोलाएर थप कुरा सोधेको उनले बताएका थिए । मन्त्रालयबाट आएको पत्रको जवाफ समेत उनीहरुले पठाइसकेको तर्क उनले गरे । 

दराजले स्वीकार्यो ‘कनेक्सन’

उक्त ब्राण्डका सामग्रीहरु दराज मार्फत बिक्री हुँदै आएको भने दराजले स्वीकार गरेको छ । एयरहोस्टेज दिदी बहिनी  प्रजिता र उनीहरुको साथी मालाकारलाई अख्तियारले छानविन गरिरहेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दराज अनलाईनलाई अनुचित व्यापारीक कारोबार गरेको भन्दै कारवाही स्वरुप ३ लाख जरिवाना गरेको छ । दराजले गुणस्तरहीन तथा अनलाइनमा एउटा राख्ने र अर्को सामग्रीको डेलिभरी गर्ने गरेको पाइएको छ । 

निगमको व्यवसाय खोसेर यती समूहको हिमालय एयरलाई दिने खेल सेलाउन नपाउँदै फेरि अर्को प्रकरण बाहिर आएको छ । निगममाथि बाह्य पक्षको आक्रमण सार्वजनिक भइरहे पनि यतिखेर निगम भित्रकै एक विभागको बेथिती बाहिर आएको हो ।

क्याविन क्रु चिफका रुपमा रहेकीसुमेली सुब्बाले पदको दुरुपयोग गर्दै मातहतका कर्मचारीलाई दुःख दिने गरेकी छिन् । मिलोमतोमा करारमा कार्यरत एयरहोस्टेज दिदि बहिनी प्रजिता र प्रदा कार्कीको सहयोगमा करार अबधि नवीकरणदेखि विभागबाट हुने सम्पूर्ण काममा अनुचित लाभ उठाउने र पैसा समेत उठाउने गरिएको छ । 

पछिल्लो पटक दिपुले नै कार्की दिदी बहिनीलाई प्रयोग गरेर करारमा कार्यरत  एयरहोस्टेजलाई करार नविकरणका लागि पैसा मागेको पाइएको छ । जनही रु दुई लाखसम्म मागिएको एक पीडित एयरहोस्टेजले जानकारी दिइन् । सो कामका लागि मानव संशाधन विभाग प्रमुख अशोक सिग्देलको समेत मिलेमतो रहेको छ । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, निगमका अध्यक्ष सुशील घिमिरे र निगमका माथिल्ला तहका कर्मचारीलाई समेत पैसा दिनुपर्ने भन्दै पैसा उठाएको पाइएको छ । 

तत्कालीन अपरेशन विभाग प्रमुख आरके शेरचनले १३ जना क्याबिन क्रु को ६ महिना करार  थप गर्दा कार्की दिदी बहिनीसहित अन्य चार जनाको भने ५ वर्षका लागि एकै पटक करार थप गरेका थिए । कार्की दिदी बहिनीलाई निगम भित्र पावर सेन्टरको रुपमा समेत लिने गरिन्छ । 

निगमको अपरेशन डाइरेक्टर जुहारचनले पनि केही एयरहोस्टेज तथा क्याबिन क्रुलाई नेताको पावर लगाउन भनेका छन् । उनीहरुको करार थप नहुने भन्द्यै पावर लगाउन र नभए अशोक सरले भने अनुसार गर्न भनेको र मानसिक तनाव दिएको बताइन्छ । यसबारेमा निगम अध्यक्ष घिमिरेलाई सबै कुरा थाहा भएपनि कारवाही गर्न सक्ने हैसियतमा उनी नरहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस