CG Landmark

चार महिनामा मेरो तेस्रो गिरफ्तारी

सोमबार, २६ असोज २०७७, ११ : ४५
चार महिनामा मेरो तेस्रो गिरफ्तारी

– अनिल शर्मा ‘विरही’

गृह मन्त्रालय र चितवन प्रहरीको दबाबमा भदौ २० गतेको ल्याब टेस्ट रिपोर्टसमेत चिकित्सकलाई हेर्न नदिई मलाई असार ३ गते डिस्चार्ज गरेको पत्र भदौ २० गते थमाइयो । त्यसलगत्तै पक्राउपुर्जी पनि दिएर जिप्रका लगियो । वैशाख २३, जेठ १८ र भदौ २० गते गरी चार महिनामा यो मेरो तेस्रो गिरफ्तारी थियो । गिरफ्तार गर्नुअघि मेरो फोन जाम गराएर सम्पर्कविच्छेद गराइएको थियो । 

Yeti Diistillery Tansen Cement box

जिप्रकाको होटलमा सातु, दूध र दुईवटा केरा खाएँ । राति ८ बजेतिर सिभिल जिपमा, सादा पोशाकका प्रहरीले मूलबाटो छलेर महेन्द्र राजमार्गमा निकाले । विप्लवलाई भूमिगत भन्दै आफैं भूमिगत काम–कारवाही गर्दै थिए । बाटोमा प्रहरीसँग लामो छलफल भयो । कमाण्डरले कुरैकुरामा ‘कुमार पौडेललाई मार्नु गलत थियो । के.डी. शाह तराईको आपराधिक समूहसँग मिलेको पुष्टि भएपछि निलम्बन भएको हो । घुस खुवाएर पुनर्बहाली भएको आपराधिक मान्छे हो’ भन्दै थिए । मैले शाहभन्दा ठूलो अपराधी सर्वेन्द्र खनाल हो र गृहमन्त्री तथा गृहसचिव मतियार हुन्, माथिको आदेशबिना त्यत्रो घटना हुँदैन भनेको थिएँ । बीचबीचमा बाटोमा रोक्दै रोक्दै गइयो । एमसीसीको कुरा भयो । प्रहरीमा हाकिम, नेता सबैप्रति आक्रोश देखिन्थ्यो । जागिरप्रति सन्तुष्टि थिएन । प्रहरी नेतृत्वले फुली थाप्न तीन-चार सय घुस खायो भनेर निलम्बन गरेको छ । ‘अख्तियार र सरकारलाई खुसी पार्ने, आफूले फूली थाप्ने, सानालाई जेल हाल्ने, ठूलालाई केही नहुने’ भन्दै गाली गरिरहन्थे । 

निजगढमा धनुषा प्रहरीको भ्यान रहेछ । अड्डासार गरे । ‘बिरामी हुनुहुन्छ, राम्ररी लग्नुहोला’ चितवन टोलीका हाकिमले औपचारिकता पूरा गरे । बीचको सजिलो सिटमा बस्नासाथ भ्यान अघि बढ्यो । ‘यस्तो यस्तो नभइकन कसरी जितिन्छ र होइन सर’ टोली प्रमुख असईले भने । सबै काला काला थिए । राति १ बजे जिप्रका धनुषा पुगियो । प्रक्रिया सकेर तुरुन्तै अस्पताल लगे । डाक्टर भनाउँदो ठेउकेले ‘रक्सी खाएको छ कि छैन ?’ भन्यो । जाँचेर भन्नुस् न, मैले भनेर हुने भए कोरोना सार्न यो भद्रगोलमा किन ल्याएको ? भनें । डाक्टरले निलडाम छ ? भन्यो । मैले हृदय र हड्डीको निलडाम हेर्नुस् पहिले भनिदिएँ । उसले हेरिरह्यो, त्यसपछि ठेठी भाषामा केही भन्यो । प्रहरीले मलाई जाऔं सर भने । सुत्ने कोठा (कोत) पुग्दा ३ बजेको थियो । मेरो त सुत्ने होइन, उठ्ने बेला हुन लागेको थियो । निद्रा लागेन । 

बिहानै औषधि खानुपथ्र्यो, दिएनन् । औषधि, तयारी खानेकुरा, पैसा, कलम, लुगा सबै उनीहरुले नै कब्जा गरेका थिए । ११ बजेसम्म औषधि नदिएपछि मैले ‘औषधि खान नदिएर मार्न खोजेको ? नारा लगाएर आमरण अनशन बस्छु, त्यसो भयो भने मरौंला, तिमीहरुलाई हत्यारा बनाएर मर्छु’ भनें । निरीक्षकलाई पटक–पटक भन्दा पनि सुनेको थिएन । अपराधी प्रकृतिको मान्छे रहेछ । सबै औषधिसहित मलाई अस्पताल लगे । आकस्मिक कक्ष सानो, भीडभाड, मास्क, सेनिटाइजर केही थिएन । गरिबहरु भुइँमा लडिरहेका थिए । मेरो मनले ‘थुक्क ओलीको समाजवाद र मधिसेको संघीयता’ भनिरहेको थियो । डाक्टरले उही ‘गोपीकृष्ण कौ’ रक्सी खानुभएको छ ? भन्यो । रात्रि क्लबबाट आएको होइन भनिदिएँ । उसले ‘ए, थाहा भएन’ भन्यो । यसरी चलिरहेको छ देश । हिजो बिहान १० बजेदेखि खाना खाएको थिइनँ । २८ घण्टापछि औषधि र खाना खाएँ । 

एउटा कोठामा १५ जनासम्म थुनुवा थिए । मास्क त प्रहरी नै नलगाउने रहेछन् । म बसेको छेउमा कोरोनाका पाँच जना बिरामी थुनुवा थिए । खाना, पानी, बाटो, भान्से, भाँडा सबै एउटै । थाल र चर्पीमात्रै साझा थिएन । राति सुनसान भएपछि गाँजा खान्थे । अलिकति धुपझैं बालेर सुत्थे । छेउकै प्रहरी थाहा नपाएझैं गर्थे । धेरैजसो थुनुवा चोरी, लागुऔषध र बलात्कार तथा देहव्यापारका थिए । एकदिन तीनवटी मुसहर जातिका महिला आए । महेन्द्रनगर बजारपश्चिम रातु खोलामा बाढीको काठदाउरा छोपेका र महेन्द्रनगर प्रहरीले त्यही मागेका तर नदिएर झगडा भएपछि पक्राउ गरिएका । कति स–साना केटाहरु हरदम रोइरहेका हुन्थे । चर्पीको पानीले मञ्जन–ब्रस, लुगा धुने, भाँडा माझ्ने, नुहाउने गर्नुपथ्र्यो । जेल–हिरासतभित्र देशको वास्तविक अनुहार देखिन्छ । मैले पानी किनेर खान्थें । फोहोर र महँगो देखेर खान मन लागेन । पानी र बिस्कुट सिरानमा राख्थें । 

तेस्रो दिन बयान दिइयो । फाँटवालाले उमा भुजेलको बयान दिए । ‘ब्रिगेड कमिसारलाई बम बनाउन नआउने रहेछ’ हाँस्दै, पढ्दै गए । ‘मियाँ की जुती, मियाँ की सर पर’ गर्नैपर्ने रहेछ । ‘उमाले त इतिहास नै भन्नुभयो, मैले लेखिदिएँ’ रुकुम घर भएका कर्मचारी भन्दै थिए । न्यायाधीशसँग पनि छलफल भयो । हामीलाई आरोप लगाइएको घटनाको विषयमा पनि कुरा भयो । न्यायाधीशको कुरा नलेखौं, मैले तीनवटा कारण भनें– पहिलो, शंकास्पद वस्तु भेटेपछि एरिया सिल गरेर निस्क्रिय पार्नुपथ्र्यो । उनी सर्प खेलझैं गरेर कर्तव्यच्युत भए । दोस्रो– मृतक घरवाला सूदखोर भएको स्थानीय र जिप्रकालाई थाहा हुँदाहुँदै औषधि पसलको कभरमा सूदखोरी भएको, तेस्रो– लेनदेनको विवाद रहिरहेको अवस्था । घटना भएपछि फसाउने नियतले प्रपञ्च रचियो ।

घटनालाई भेग (फराकिलो) बनाइएको र त्यसो गर्नु भनेको पीडितलाई न्याय नदिनु हो भन्ने एकजना न्यायाधीशको तर्क पनि सुनियो । जसलाई मैले सत्ताको ‘लास राजनीति’ भनेर बुझेको छु ।

धनुषा पुगेको चौथो दिन अदालतमा पेश गरे । सरकारी वकिल आएनन् । अदालतले नै फोन गरेर बोलायो तर सरकारी वकिल मनोजकुमार गुप्ताले ‘आउने–नआउने हाम्रो कुरा हो’ भन्ने ओंठे जवाफ दिएछन् । सरकारी वकिलको औकात हेरेर न्यायाधीश नै गुनासो गर्दै थिए । न्यायमूर्ति र वकिलको बहस कुनै गोष्ठीको मन्थनजस्तो थियो । सरकारी वकिल अनुपस्थित भएपछि बहस अन्तक्र्रियाजस्तो थियो । फैसला पर्खिंदै गर्दा प्रहरी भने हाकिमलाई गाली गर्दै, जीवन त्यसै गयो भनेर गुनासो गरिरहेका हुन्थे । 

अदालतले जमानतमा रिहा गर्ने भन्यो । प्रहरी प्रमुखसँग अगाडिको कदमबारे बुझ्दा ‘थाहा छैन, आधा घण्टामा बुझेर भन्छु’ भन्यो र फोन बन्द गरेर बस्यो । अदालतको ढोकामा आएर फेरि गिरफ्तार गरियो । मधेसीमूलकी महिला र पुरुष (पहाडे) दुवैले ‘अदालतले छोडेको मान्छेलाई किन नछोडेको, छोड्नुप¥यो नि’ भन्दै थिए । फेरि जिप्रका लगे । वकिलहरु घर फर्के । राति ८ बजे मेरो सामान दिए । एकजना प्रहरी थिए । सहानुभूति राख्थे । औषधि पानी, खाजा दिन झर्को मान्दैनथे । उनले ‘के हो यो कानुन पनि, अदालतले छोड्ने, प्रहरी नछोड्ने’ भन्दै थिए । ‘हामी पनि पार्टी ज्वाइन गर्छ सर’ थुनुवाहरु भन्थे । राति ८ बजे भूमिगत रुपमा गाडीमा हालेर हिँडे । पक्राउ पुर्जी थिएन । चोर बाटोबाट ढल्केबरपूर्व पुगेर पूर्वतिर लागे । लहान कटेपछि बल्ल कोसी बाँध जाने हो भने ।