अनसनरत डा.गोविन्द केसीको मागलाई लिएर आज सरकारसंग वार्ता हुँदै

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, ०८ : ५७
अनसनरत डा.गोविन्द केसीको मागलाई लिएर आज सरकारसंग वार्ता हुँदै

काठमाडौँ । अनसनरत डा. गोविन्द केसी र सरकार बिच आज वार्ता हुने भएको छ । दुव पक्षबाट  वार्ता टोलि गठन गरेपछि आज वार्ता लागेको हो ।
सरकारले अनशनरत चिकित्सक प्राडा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।त्यस्तै डा. गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोलि गठन गरिएको छ । वार्ता टोलीमा डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. अन्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए । बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्राडा केसीलाई आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस