भरतपुर महानगरमा सडक विस्तार : तीन वर्षमा तीन सय ७५ किलोमिटर कालोपत्रे

अबको दुई वर्षभित्र महानगरका सबै सडकहरु कालोपत्रे गर्ने लक्ष्य लिएका छौं : मेयर रेनु दाहाल

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १७ : २८
भरतपुर महानगरमा सडक विस्तार : तीन वर्षमा तीन सय ७५ किलोमिटर कालोपत्रे

चितवन । न निषेधाज्ञा, न लकडाउन, न त कोरोना कहरको बेला । कुनै समय पनि भरतपुर महानगरपालिकामा सडक विस्तारको अभियान रोकिएन । भरतपुर महानगरका अधिकांश भित्री तथा महत्वपूर्ण सडकहरु धमाधम कालोपत्रे भए ।

महानगरका भित्री तथा महत्वपूर्ण सडक कालोपत्रेको काम तीव्र पारिएको छ । कुनै बेला कालोपत्रे टेक्न भरतपुरको चौबीसकोठी आउनुपर्ने महानगरको पश्चिमी क्षेत्रका अधिकांश बासिन्दाको घर अगाडि यतिबेला चिल्लो कालोपत्रे छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू निर्वाचित भएर भरतपुर महानगरको प्रमुख बनेपछिको तीन वर्षमा ३७५ किलोमिटर सडक उच्चस्तरीय कालोपत्रे भइसकेको बताइन् । उनले भनिन्, ‘हिजो ग्रामीण स्तरका धुलाम्मे सडकहरु आज चिल्ला कालोपत्रे भएका छन्, अबको दुई वर्षभित्र महानगरका सबै सडकहरु कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ ।’  

महानगरपालिका, सांसद विकास कोष, शहरी विकास मन्त्रालय र सडक डिभिजन कार्यालयले महानगरभित्रका सडकलाई वर्गीकरण गरेर बजेट छुट्याएका छन् । महानगर प्रमुख दाहालका अनुसार भरतपुर महानगरमा २९ वडा छन् । सबै वडाको भित्री सडकहरु पनि यतिबेला कालोपत्रे भइरहेका छन् । भरतपुर महानगरले चौबीसकोठीदेखि पश्चिम लाग्ने दुई महत्वपूर्ण सडक कालोपत्रे गरिसकेको छ । 

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा खन्याइएर कालोपत्रे गरिएको प्रमुख दाहालले बताइन् । वर्षौंदेखि बिग्रिएर जनताले दुःख पाएको भरतपुर–रामपुर–चनौली–मेघौली सडक कालोपत्रे भइसकेको छ । भरतपुरबाट चनौलीसम्म कालोपत्रे गरेर सकिएको छ । पश्चिम चितवनका अधिकांश जनताले यही सडक प्रयोग गरेर भरतपुर आउने गर्छन् । वर्षौदेखि सास्ती भोगेका पश्चिम चितवनका जनताले भरतपुर चनौली सडक बनेपछि धेरै सहजताको अनुभूति गरेका छन् । 

भरतपुरको चौबीसकोठीबाट गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकसमेत कालोपत्रे भएपछि यात्रा गर्न निकै सहज भएको छ । पकडी बजारदेखि भरतपुरको अन्तिम सीमाविन्दु कसरा पुलसम्म सडक कालोपत्रे भइसकेको छ ।

‘यो तीन वर्षका अवधिमा भित्रभित्रका सडकहरु कालोपत्रे भएका छन्, ३०० किलोमिटर उच्चस्तरको ग्राबेल भएका छन्, १६ किलोमिटर मोज्याक टायल लगाइएको छ, ३४ किलोमिटर नयाँ ढलहरु बनेका छन्’ भरतपुर महानगर पूर्वाधार महाशाखा प्रमुख रत्न लामिछानेले भने, ‘पुराना ग्रामीण सडकहरु सबै कालोपत्रे भएका छन्, नयाँ खोलिएका सडकहरु पनि उच्चस्तरको ग्राभेल गरिएको छ ।’

भरतपुर महानगरका १, २, ३, १०, ११, १२, ९, ७ नम्बर वडामा सडकपेटी बनाइएको छ । महानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको रिङरोड १०५ किलोमिटरमध्ये १० किलोमिटर सडकखण्ड डीपीआरसँगै निर्माणको काम धमाधम अघि बढिरहेको छ । रिङरोडलाई जोड्ने १५ वटा लिंकरोडको काम पनि धमाधम अघि बढेको महानगरको भनाइ छ । 

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, चितवन डिभिजन कार्यालयमातहत १२ वटा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । पश्चिम चितवनको मंगलपुरबाट दक्षिणहुँदै महेन्द्रचोक, शिवनगर, पार्वतीपुर, शुक्रनगरबाट मेघौली नजिकको तेलौली निस्कने झन्डै २१ किलोमिटर सडकको काम अघि बढिरहेको छ । 

महानगरपालिकाले चालु आर्थिक वर्षमा थप एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ । महानगरले सडकसँगै कल्भर्ट बनाउने कामलाई पनि प्राथमिकतामा राखेको छ । साइकल लेनको कामलाई पनि अघि बढाइरहेको छ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माणको काम अघि बढेको छ । भरतपुर महानगरपालिका ७ मा निर्माण हुन लागेको साइकल लेनसहितको सडकको प्रमुख रेनु दाहालले यसअघि नै शिलान्यास गरेकी थिइन् ।  भरतपुर ७ गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म साइकल लेनसहितको सडक निर्माण गर्न लागिएको हो ।

१ हजार ३ सय मिटर लामो सडकको लागत अनुमान ९ करोड छ । प्रारम्भिक चरणमा ३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । केन्द्र सरकारबाट विनियोजन भएको बजेट भरतपुर महानगरपालिकामार्फत काम हुन लागेको हो । सडकमा फुटपाथ, ड्रेन, साइकल ट्रयाक हुनेछ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माणको काम अघि बढिरहेको वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस