शिक्षकको गुनासो : विद्यार्थीको सिकाइस्तर खस्कियो

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १५ : २६
शिक्षकको गुनासो : विद्यार्थीको सिकाइस्तर खस्कियो

सांकेतिक तस्विर

काठमाडौँ । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभुत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर छ मा गएका सन्तोष छ महिनापछि मात्रै कक्षा छ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका नेपाली आफूलाई पढ्नुपर्छ भन्ने लागेको बताउँछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उनको अनुभव छ । 

सन्तोष कोरोनाको त्रासको विचमा विद्यालय आउनुपर्दा मास्क लगाएर आउने गर्छन् । घरबाट निस्कने बेला स्यानीटाइजार लगाएर आउने गरेका उनी विद्यालयमा पटकपटक साबुनपानीले हात धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाँउदा आफू खुसी भएको उनको भनाई छ ।

सोही ठाँउका सुस्मिता भण्डारी पनि कक्षा ६ मा नै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । 

कोरोना संक्रमणबाट जोगिन रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाई छ । पटकपटक साबुनपानीले हात धुने गरेकी सुस्मिता घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्वीकार्दै विद्यालय खुल्दा खुसी लागेको बताउँछिन् ।

सुस्मिताकी आमा लक्ष्मी भण्डारी विद्यालय खुलेकोमा आफू धेरै खुसी भएको बताउँछिन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाई छ । छोराछोरी घरमै बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिकस्तर सुधार हुने उनको अपेक्षा छ ।

पञ्चकन्या आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताउँछन् । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थीले मापदण्ड पूरा गर्न नसकेको उनको भनाई छ । छ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिकस्तर धेरै खस्किएको पाएको उनले बताए ।

अझैै पनि देशभरिका शैक्षिक संस्था बन्द रहेका छन् । कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस