जो अरुलाई बाँड्छन् उज्यालो, उसैको जीवन अँध्यारो

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १७ : २८
जो अरुलाई बाँड्छन् उज्यालो, उसैको जीवन अँध्यारो

सांकेतिक तस्विर

चितवन । शिक्षक शब्दको अर्थ शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति भन्ने बुझिन्छ । शिक्षक शब्दमा प्रयोग भएको अक्षर ‘शि’ले शिखरमा लैजाने मान्छे, ‘क्ष’ले क्षमा गर्ने व्यक्ति र ‘क’ले कमजोरी दूर गर्ने व्यक्ति भन्ने बुझाउँछ । शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ । यहाँ गुरुको ‘गु’ले अन्धकार र ‘रु’ले तेजलाई जनाउँछ । ज्ञानरुपी प्रकाश दिएर अन्धकारलाई हटाउने व्यक्ति नै गुरु मानिन्छ । अरुलाई उज्यालो दिने तिनै गुरुको भविष्य यतिबेला अँध्यारो छ । जो अरुलाई ज्ञानको ज्योति बाँड्छन्, उनैको पेट यतिबेला खाली छ । 

कोरोना भाइरसको संक्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयका शिक्षकहरुको भविष्य यतिबेला अँध्यारो छ । उज्यालो बाँड्ने उनै शिक्षक कतिञ्जेल अँध्यारोमा बस्न सक्छन् ? देशभर संस्थागत विद्यालयमा कार्यरत दुई लाख शिक्षकमध्ये ९५ प्रतिशत शिक्षकको पेट खाली भएको दावी गरिएको छ । 

संस्थागत विद्यालयका शिक्षकको हकहितमा लड्दै आएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का केन्द्रीय उपाध्यक्ष केशव पाठकले भने, ‘संस्थागत दुई लाख शिक्षकमध्ये ९५ प्रतिशत शिक्षकले यस शैक्षिक सत्र वैशाखदेखि यता तलब पाएका छैनन् ।’ उनका अनुसार तलब माग्दा शिक्षकहरु निष्कासनमा परेका छन् । उनले भने, ‘शिक्षकका पनि परिवार हुन्छन्, जो घाँटी सुकाएर ज्ञानको ज्योति छर्छन्, आज उसले खाली पेट भर्ने अन्न माग्दा जागिरबाट निकालिन विवश भएका छन् ।’ उनका अनुसार देशभरि तीन हजारभन्दा शिक्षकहरु तलब माग्दा निष्कासनको चिट घरमा आइरहेको छ ।

देशभर आफ्नो पेसाप्रति इमान्दार भएर खाली पेटमै शिक्षकहरुले यतिबेला अनलाइन कक्षा पढाइरहेका छन् । तर बेलुका घर फर्कदा उनै शिक्षकहरुले खाएका छन् कि छैनन् भन्नुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । इस्टुले गत वर्षकै माघदेखि तलब नपाउने शिक्षक झन्डै ४० प्रतिशत रहेको दावी गरेको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् ।

संस्थागत विद्यालय शिक्षक युनियनका उपाध्यक्ष पाठकले संस्थागत विद्यालयका शिक्षकले गत चैतदेखि जेठ महिनासम्मको तलब पाउन नसकेको बताए । शिक्षकहरु तलब नपाउँदा आर्थिक अवस्था नाजुकमात्र होइन, पेसाबाट पलायन भइरहेका उनी बताउँछन् । उनका अनुसार शिक्षक लगायत राष्ट्रसेवकलाई बन्दाबन्दीको समयमा कार्यालय नगएपनि तलब सुविधा दिने सरकारले राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ, तर आज संस्थागतका शिक्षक आफ्नो पेसा छोडेर अन्त लाग्न बाध्य भएका छन् । पाठकले भने, ‘भोलि त्यो गुणस्तर अन्य पेसामा गए भने संस्थागत विद्यालयको गुणस्तर कहाँ पुग्छ ?’

इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले चितवनमा असारपछि कुनै पनि संस्थागत विद्यालयले तलब नपाएको बताउँछन् । उनी भन्छन्, ‘चितवनमा १५ सय शिक्षकले अघिल्लो वर्षकै तलब पाएका छैनन् ।’ उनका अनुसार चितवन जिल्लामा ६ हजार शिक्षक छन्, उनीहरु सबै रोजीरोटीमा समस्या सिर्जना भएको छ । चितवनका प्याव्सनअन्तर्गत रहेका १५४ वटा विद्यालयले शिक्षकलाई पाकेट खर्चबाहेक तलब नदिएका उनी बताउँछन् ।  

संस्थागत विद्यालयका शिक्षकको समस्या आएपछि यसमा पहल गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तथा सरकारी अधिकारीलाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको छ । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस