प्रधानमन्त्री निवासमा कसरी छिर्‍यो ‘कोरोना’ ?

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, ०८ : ५५
प्रधानमन्त्री निवासमा कसरी छिर्‍यो ‘कोरोना’ ?

काठमाडौं । कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि मुख्य योजना बनाउने थलो हो – प्रधानमन्त्री निवास बालुवाटार । गत माघ १९ गते मन्त्रिपरिषद्को बैठक बालुवाटारमै बसेर आफु मृगौला प्रत्यारोपणमा जाने र कोभिडसँग जुध्ने सम्पूर्ण तयारी गर्ने जिम्मा त्यसबेला ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको काँधमा थमाएका थिए ।

यस बीच सरकारले चार महिना लामो देशब्यापी लकडाउन घोषणा ग¥यो । झण्डै एक महिना निषेधाज्ञा पनि ठाँउ विशेष हेरेर प्रायः मुख्य शहरहरु सबैमा गरिए । तर कोभिड रोकथाम र नियन्त्रण भन्दा बाहिर पुगेको छ । सरकारले प्रभावकारी रुपमा नियन्त्रण प्रयास गरेको भनेपनि खासमा अहिले यसबाट हात झिकेको छ । जसकाकारण देशभर कोभिड भयावहको अवस्थामा पुग्दैछ ।

छिमेकी मुलुक भारतमा संख्यात्मक रुपमा बढी देखिएपनि परिक्षणको मात्रालाई प्रतिशतमा हेर्ने हो भने भारतमा भन्दा नेपालमा अहिले संक्रमणको दर ह्वात्तै बढ्दै गईरहेको छ । कतिपय विज्ञहरुले सरकारले कोभिडसँग आत्मसमर्पण गरिसकेको बताउन थालेका छन् । रामभरोसा अब आफ्नो सुरक्षा आफैले गर्ने हो भन्ने सम्मको अवस्था देखा पर्न थालिसकेको छ । यही क्रममा कोभिडको संक्रमण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै प्रवेश गरिसकेको छ । त्यो पनि त्यहाँ एकाध मान्छेमा होइन, हटस्पट नै बन्ने गरी दर्जनौंमा देखिएको छ ।

बालुवाटारले कोभिडसँग जुध्नकै लागि गेट देखि सचिवालय सम्म आफ्नै प्रकारले सुरक्षा विधि अवलम्वन गरेको थियो । गेटबाट झिर्ने बित्तिकै हातमा सेनटाइजर प्रयोग गर्नुपर्ने, नजिकै हात धुनुपर्ने जस्ता नीति बनाएको छ । त्यक्तिमात्र होइन, विशेष सुरक्षा सर्तकता अवलम्बन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत सबैले अनिवार्य रूपमा मास्क लगाएर एकआपसमा दुई मिटर दूरी कायम राख्नुका साथै हातमा सेनिटाइज गर्नुपर्ने प्रोटोकल छ । चियाखाजासमेत एक्लै खानुपर्छ, समूहमा खान पाइँँदैन् । यस्तो नियम बनाउँदा बनाउँदै प्रधानमन्त्री निवास बालुवाटारमा कसरी पस्यो कोरोना ? अहिले चासोको विषय बनेको छ । 

प्रधानमन्त्री सचिवालयका ६ जना (प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, निजि चिकित्सक डा. दिब्या सिंह र फोटो पत्रकार राजन काफ्ले), सुरक्षामा रहेका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी कुल ७६ जना संक्रमित भएका छन् । अझै ४५ जनाको रपोर्ट आउन बाँकी रहेको पनि बताईएको छ । सेक्युरेटी नै नयाँ परिचालन गर्ने गरी बालुवाटारमा कोरोनाको हट स्पट सुरक्षा मापदण्ड अवलम्वन गर्दागर्दै कसरी बन्न पुग्यो ? अहिले चासोको विषय बनेको छ ।

शुरुमा प्रधानमन्त्रीको निजी चिकित्सक र फोटो पत्रकारमा कोरोना संक्रमण देखिएको थियो । केही सुरक्षाकर्मी र ड्राइभरमा कोरोना यस बीचमा देखिएको थियो । सोही कारण बुधबारबाटै बालुवाटारमा कोभिडको परिक्षण चल्न थालेको थियो । त्यही क्रममा प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी राधिका शाक्य, स्वकिय सचिव राजेश वध्राचार्य लगायतको परिक्षण बिहिबार गरिएको थियो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको थियो । तर शुक्रबार परिक्षण गराईएका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा सहित झण्डै ६ दर्जन सुरक्षाकर्मीको भने रिपोर्ट पोजेटिभ आएको हो ।

शक्रुबार पोजेटिभ रिपोट आएकाहरुले शनिबार रिपोर्ट नआँउदा सम्म प्रधानमन्त्रीलाई कुनै न कुनै रुपमा भेट गरेको हुन सक्ने अनुमानका साथ प्रधानमन्त्री पनि बालुवाटार भित्रै अहिले आइसोलेसनमा बसेका छन् । हुन त स्वाब दिएपछि प्रधानमन्त्रीसँग उनका मुख्य सल्लाहकार देखि सल्लाहकार सम्मले नभेटेको र उनीहरु घरमै आइसोलेसनमा बसेको बताइएपनि ओलीसँग भेट कुनै न कुनै रुपमा भएको हुन सक्ने ठानिएको छ । ओलीको फेरि पूनः परिक्षण गर्नुपर्ने अवस्था आईलागेको छ । प्रधानमन्त्री समेत कन्ट्याक्ट टे«सिङमा परेपछि उनको फेरि परिक्षण गर्नुपर्ने देखिएको हो । उनी अहिले आफ्ना सबै भेटघाट बन्द गरेर बसेका छन् । 

बालुवाटारमा कोभिड हटस्पट बनेपछि नेकपा बैठक अनिश्चित
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक आज बस्ने तय भएको थियो । हिजो शनिबार नै सचिवालय बैठक बस्ने भने पनि आजका लागि बस्ने गरि हिजोको बैठक स्थगित गरिएको थियो । तर बालुवाटारमा कोरोनाको हटस्पट बनेपछि र ओलीका मुख्य सचिव समेत कोभिडमा परेपछि प्रधानमन्त्रीले भेटघाट बन्द गरेका छन् ।

सोही कारण आज बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले स्वेच्छाचारि ढंगले पून राजनीतिक नियुक्तिहरु गर्न थालेको भन्दै फेरि विवाद बल्झिने अवस्थामा थियो । तर ओलीको सचिवालयमै कोरोना देखेपछि अब केही समय नेकपा बैठक अनिश्चित बनेको नेकपाका एक नेताले बताए ।

नेकपामा मन्त्रिमण्डल पूर्नगठन, राजनीतिक नियुक्ती लगायतका विषयमा पार्टीभित्रै विवाद थियो । नेकपाले सम्वैधानिक राजनीतिक नियुक्ति निश्चित मापदण्डका आधारमा गर्ने, पार्टी एकताको बाँकी कामको ठोस प्रस्ताव दुई अध्यक्ष र महासचिवले मिलेर १० दिनभित्र तयार पारिसक्ने लगायतका कार्ययोजना बनेका थिए । तर ति सबै काम फेरि प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस