थप सवा दुई अर्ब बढाउन इण्डियन आयलको दबाब

पत्रपत्रिकाबाट

आइतबार, १८ असोज २०७७, ०७ : ४१
थप सवा दुई अर्ब बढाउन इण्डियन आयलको दबाब

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो । आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दुई प्रतिशत रकम मार्जिन राखेर इन्धन बिक्री गर्दै आएको छ ।

अहिले पेट्रोल र डिजेल बिक्री गरेबापत आइओसीले पाउने मार्केटिङ कस्ट (लागत) शीर्षकको रकम एक लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) बढाएर पठाएको छ। लिटरमा ८९ पैसा बढ्दा यहाँ आयात हुने वार्षिक २५ लाख किलोलिटर पेट्रोलियम पदार्थका आधारमा एक वर्षमा करिब सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने देखिन्छ। आयात बढ्दै जाँदा यो रकम पनि बढ्छ। मार्केटिङ कस्ट शीर्षकको रकम बढाउन आइओसीका अधिकारीले दबाब दिएको आयल निगमका एक उच्च अधिकारीले बताए। ‘आइओसीले डिजेल र पेट्रोलको मार्केटिङ कस्टमा ५६ पैसा भारु बढाउन बिलिङ गरेर पठाएको छ,’ ती अधिकारीले भने, ‘तर यस्तो थप रकम तिर्नुपर्ने कुनै कारण छैन।’

आइओसीले बढाएर पठाए पनि निगमले भुक्तानी दिएको छैन। आइओसीले नेपालमा विगतमा युरो–४ मापदण्डको इन्धन बिक्री गर्दै आएकोमा अहिले युरो–६ मापदण्डको तेल बढाउँदा लागत बढेको दाबी गरेको छ। आइओसीले निगमसँग मार्केटिङ कस्ट र मार्केटिङ मार्जिन शीर्षकमा थप रकम लिएर मूल्य निर्धारण गर्छ। आइओसीले नेपालमा युरो–६ मापदण्डको तेल पठाउँदा लागत बढेको दाबी गर्दै लिटरमा ५६ पैसा भारु ९८९ पैसा नेपाली० मूल्य बढाएर सूची पठाएको छ। यसअनुसार भुक्तानी दिने हो भने नेपालले वार्षिक सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी दिनुपर्ने हुन्छ।

आइओसीले गत अप्रिलदेखि एकतर्फी रुपमा रकम बढाएर पठाएको भए पनि निगमले भुक्तानी दिएको छैन। गत अप्रिलदेखि नेपालमा युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ आउन थालेको हो। त्यही बेलादेखि नै आइओसीले मार्जिनको रकम बढाएर बिल पठाउन थालेको हो। आइओसीले आफ्नो प्रतिनिधिको रुपमा एसपाल कान्तलाई नेपालमा राखेको छ। एसपालले बढ रकम भुक्तानी दिन विभिन्न माध्यमबाट दबाब दिइरहेका छन्।

अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमले आइओसीलाई दुई प्रतिशत मार्जिन दिँदै आएको छ। एक वर्षमा करिब २५ लाख किलो लिटर डिजेल र पेट्रोल आयात हुने निगमको प्रक्षेपण छ। लिटरमा ८९ पैसा बढाउँदा आयल निगमले वार्षिक दुई अर्ब २४ करोड रुपैयाँ थप रकम आइओसीलाई भुक्तानी दिनुपर्छ। ८९ पैसा बढाउँदा एक किलोलिटरमा आठ सय ९६ रुपैयाँ बढ्छ। एक किलोलिटरको आठ सय ९६ रुपैयाँका दरले हिसाब गर्दा २५ लाख किलोटिरमा दुई अर्ब २४ करोड रुपैयाँ रकम बढ्छ।

अक्टोबर १ को मूल्यअनुसार निगमले पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ ९३ पैसा र डिजेल ४० रुपैयाँ ६ पैसामा आइओसीबाट खरिद गरेको छ। सरकारलाई तिनुपर्ने विभिन्न शीर्षकमा कर जोडेर निगमले पेट्रोलमा ५६ पैसा नाफा राखेर एक सय सात रुपैयाँ र डिजेलमा र डिजेलमा तीन रुपैयाँ ५४ पैसा नाफा राखेर ८९ रुपैयाँमा बिक्री गरेको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस