प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्तावको विरोधमा प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १६ असोज २०७७, १८ : ३८
प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्तावको विरोधमा प्रदर्शन

बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा बुटवलमा प्रदर्शन भएको छ ।

नेपाली काँग्रेसले सो प्रस्तावको विरोध गर्दै प्रदर्शन गरेको हो । उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका हुन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् ।

तर नेपाली कांग्रेस दाङले भने दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने कुरा स्वागत योग्य भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस