कोरोना कहरमा मानवतस्करको योजना : विभिन्न प्रलोभन देखाएर नेपाली बालबालिका भारतका विभिन्न सहरमा पु¥याईदैं

पत्रपत्रिकाबाट

मंगलबार, १३ असोज २०७७, ०७ : ४३
कोरोना कहरमा मानवतस्करको योजना : विभिन्न प्रलोभन देखाएर नेपाली बालबालिका भारतका विभिन्न सहरमा पु¥याईदैं

फाईल तस्वीर

नयाँदिल्ली । कोरोना महामारीका कारण साना नाकामा सुरक्षाकर्मीको निगरानी फितलो भएको मौका छोप्दै मानवतस्करहरुले विभिन्न प्रलोभन दिएर बालकहरुलाई भारतका विभिन्न सहरमा पुऱ्याउने गरेको तथ्य खुलेको छ ।

सोमबार साँझ भारतको राजधानी नयाँदिल्ली छेउको गाजियाबादबाट अठार जना नेपाली बालकहरुको उद्धार गरिएको घटनाले मानवतस्कहरुको त्यस्तो करतुत बाहिर ल्याएको हो । मानवतस्करहरुको आकर्षक कमाइको प्रलोभन दिएर काम लगाउने भन्दै दिल्ली पुऱ्याउने योजना बनाएका थिए । तर, उनीहरुको त्यो योजना साकार हुनुअघि नै ती अठार जना नेपाली बालकको उद्धार गरिएको छ ।

स्थानीय प्रहरीले दिल्ली महिला आयोग र आफन्त नेपालसँगको समन्वयमा सोमबार साँझ भारतको राजधानी दिल्ली छेउको गाजियाबादबाट उनीहरुलाई उद्धार गरेको हो । १३ देखि १६ वर्ष उमेरका यी सबैजना नवलपरासी जिल्लाका हुन् । ती बालकहरुलाई काममा लगाउने भन्दै तीन जना दलालले नवलपरासीको ठूटीबारी नाकाबाट भारतमा पुऱ्याएको आफन्त नेपालका भारत प्रतिनिधि नवीन जोशीले कान्तिपुरलाई बताए । ‘राम्रो कमाइ हुने काममा लगाइदिन्छु स्थानीय दलालहरुले ल्याएका रहेछन्,’ जोशीले भने ।

जोशीका अनुसार मानवतस्कहरुहरुले नेपाली बालकलाई दिल्ली पुऱ्याउन लागेको गोप्य सूचनाका आधारमा स्थानीय प्रहरीले नेपालबाट आउने गाडीहरुमा निगरानी बढाएको थियो । र, त्यसैअनुसार सोमबार साँझ एउटा गाडीमा रहेका बालकहरुको सम्बन्धमा सोधपुछ गर्दा उनीहरुलाई काममा लगाउन दिल्लीमा पुऱ्याउन लागेको खुलेको हो ।

प्रहरीले बालकहरुलाई ल्याउने तीन जनालाई पक्राउ गरेको छ । उद्धार गरिएका सबैलाई दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस