आज बुझाउलान् रामचन्द्र पौडेलपक्षले सभापति शेरबहादुर देउवाविरुद्ध विरोध पत्र  ?

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ०९ : २६
आज बुझाउलान् रामचन्द्र पौडेलपक्षले सभापति शेरबहादुर देउवाविरुद्ध विरोध पत्र  ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संस्थापन र इतर समुहका बिचको जुहारी उस्तै छ । सभापति शेरबहादुर देउवाले मनोमानी गरेको, फागुनमा तय भएको पार्टी महाधिवशेन सार्ने योजना बनाएको जस्ता आरोप लगाउदै वरिष्ठ नेता रामचन्द्र पौडेल देउवासँग असन्तुष्ट छ ।

आफुलाई तेश्रो धारको नेतृत्व गरिरहेको बताउँदै आईरहेका कृष्णप्रसाद सिटौला पनि देउवाको पछिल्लो कदममा सन्तुष्ट छैनन् । असन्तुष्ट नेताहरुको एउटै मोर्चा बनाउने र सभापति देउवाको विरुद्धमा विरोध पत्र बुझाउने तयारीमा पौडेलले सिटौलाको पनि साथ खोजेका थिए ।

आइतबार दिनभर उनले त्यसका लागि प्रयास गरेपनि सिटौलाले पौडेललाई पनि साथ दिएनन् । जसकाकारण पौडेलले विपक्षी नेताहरुको एउटै मोर्चा बनाएर सभापति देउवासँग भिड्ने योजनामा ब्रेक लाग्न पुगेको थियो । सोही कारण आइतबार नै देउवाका विरुद्दमा पत्र बुझाउने पौडेल पक्षको योजना तुहिएको थियो ।

सिटौलाले साथ नदिएपछि अब पौडेल पक्षले देउवाविरुद्द बुझाउन लागेको विरोध पत्र के होला ? काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले आज केन्द्रीय कार्यालयमा पुगेर विरोध पत्र बुझाउने तयारी भईरहेको बताए । उनले सफलखबरसँग भने, –‘आज हामी पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापतिको मनोमानीका विरुद्दमा विरोध पत्र केन्द्रीय कार्यालयमा बुझाउँछौं ।’

देउवालाई नै विरोध पत्र बुझाउन भने उनीहरुले सक्ने देखिएको छैन् । सभापतिले समय नै नदिएका कारण उनलाई भन्दा संस्थागत रुपमा पार्टी कार्यालयमा बुझाउने तयारी पौडेल पक्षले गर्न लागेको हो । सभापति देउवाले भने महाधिवशेन लगायतका विषयमा निर्णय लिन १७ असोजमा पार्टी केन्द्रीय समितिको बैठक पार्टी कार्यालयमा बोलाएका छन् । २०७० फागुनमा देउवा सभापतिमा निर्वाचित भएका थिए । उनले यो बीचमा केन्द्रीय समितिको कार्यकाल थप गरिसकेका छन् ।

निर्वाचनको सम्मुखमा क्रियाशिल सदस्यता वितरण, विभागहरुमा मनोनयन लगायतका काम गरेको, महाधिवेशन आफु अनुकुल हुने गरी कब्जा जमाउन सार्ने प्रयत्न गरेको जस्ता आरोप पौडेल पक्षले देउवाविरुद्द लगाईरहेका छन् । यही आरोपसँग निर्णयक संर्घषमा जुध्ने रणनीतिमा पौडेल पक्षले लागेको र त्यही क्रममा आज विरोध पत्र बुझाउने तयारी भएको पौडेल पक्षका नेताहरुको भनाई छ ।  

आज केन्द्रीय कार्यालयमा पुगेर बुझाउन लागिएको विरोध पत्र पनि संघर्षको एक कार्यक्रम रहेको केन्द्रीय सदस्य घिमिरेले बताए । राधेश्याम अधिकारीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा समेत पौडेल समुहले सभापति देउवाले विधान विपरित गतिविधि गरेको भनेर उजुरी दिएको थियो ।

तर, सो उजुरीमाथि पनि सुनुवाई नभएको पौडेल समुहको आरोप छ । वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेटेरै विधान विपरितका काम नगर्न भनेका थिए । तर, पनि देउवाले नमानेपछि बाध्य भएर संस्थागत रुपमा नै विरोध पत्र बुझाउन लागिएको पनि घिमिरेले सफलखबरलाई बताए ।

‘वरिष्ठ नेता पौडेलको भनेको नमान्ने, निर्वाचित महामन्त्रीले भनेको नमान्ने, निर्वाचित कोषाध्यक्षले भनेको नमान्ने, उहाँ (देउवा) को नियत के हो?’ घिमिरेले भने, –‘विभिन्न जिल्लाहरुमा व्यक्तिगत ढंगबाट सदस्यता फार्म वितरण गरिएको छ । तर कार्भे लगायतका जिल्लामा भने सदस्यता फार्म नदिने ? उहाँ (सभापति) को नियत के हो ? त्यही भएर विधान विपरित नगर्न आग्रह गर्दै विरोध पत्र हामीले बुझाउन लागेका हौं ।’
 

प्रतिक्रिया दिनुहोस