मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल मन्त्री बन्दै, जनार्दन शर्माको हकमा के ?

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ०९ : ०७
मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल मन्त्री बन्दै, जनार्दन शर्माको हकमा के ?

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा पनि अर्थमन्त्री को बन्लान् ? भन्ने चर्चा ब्यापक छ । प्रधानमन्त्री ओलीले सचिवालय सदस्य समेत रहेका अहिलेका दुई मन्त्रीहरु उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) लाई सरकारमा राखिरहन चाहेपछि उनीहरु पुनर्गठित मन्त्रिमण्डलमा डेन्जर जोनबाट सिधै सेभ जोनमा परेका छन् ।

सचिवालयमा रहेका महासचिव विष्णु पौडेल पनि सरकारमा सहभागी हुने भएका छन् । उनलाई प्रधानमन्त्री ओलीले सरकारमा लान चाहेका छन् र उनको पूर्नगठन हुने मन्त्रीमण्डलमा इन्ट्री करिब निश्चित जस्तै भएको स्रोत बताउँछ । पूर्व प्रधानमन्त्री रहेका प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल बाहेक त्यसपछि बाकी रहने अन्य दुई उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठका हकमा भने के होला ? यो पनि चासो छ । दुबैले सरकारमा सहभागी हुने इच्छा ब्यक्त गरेका छन् ।

तर यही प्रतिनिधीसभाको चुनावमा पराजित भएका कारण गौतम र श्रेष्ठलाई यही प्रतिनिधी सभाको हकमा सरकारमा जान पाउने या नपाउने भन्ने सम्वैधानिक प्रश्न उठेको छ । गौतमलाई राष्ट्रिय सभामा सरकारको सिफारिसमा मनोनित गरेर लैजाने विषयमा परेको रिटमा तत्काललाई थप संम्वैधानिक अधिकार नदिन फैसला सुनाउदै सर्वाेच्चले यस विषयमा अदालतको सम्वैधानिक इजालसमा बहस गर्नुपर्ने प्रश्न उठाएको छ ।

नयाँ मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, प्रभु शाह, खगराज अधिकारी, गणेशसिंह ठगुन्ना, प्रेम आले, विशाल भटटराई, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत,  टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, राजबहादुर बुढा लगायत चर्चामा छन् ।

गौतम मनोनित भएपनि श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित भएर आएका सांसद हुन् । तर प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालभित्र संघीय सांसद बनाउन मिल्ने-नमिल्नेबारे ‘गम्भीर संवैधानिक व्याख्या’ हुनुपर्ने आदेश सर्वाेच्चले वामदेवको प्रकरणमा गरेबाट गौतम र श्रेष्ठ दुवै यसबाट प्रभावित बनेका छन् । ओली दुवै नेतालाई अहिले सरकारमा लैजान चाहिरहेका छैनन् । तर प्रचण्ड भने दुवैलाई मन्त्रिमण्डलमा लैजान समस्या नरहेको भन्दै सर्वाेच्चको प्रारम्भिक छलफल कुर्न चाहिरहेका देखिन्छन् । १४ असोजबाट अदालतमा गौतममाथी परेको रिटमा बहस सम्वैधानिक इजालसमा हुदैंछ ।

ओलीले पोखरेललाई रक्षाबाट अन्यत्र सार्ने र राख्ने बादललाई गृहमै यथावत राख्ने तयारी गरेका छन् । महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्माका बीचमा गृह र अर्थ दुई नेतामा आपसी सहमतिमा लिने गरी दुवै अध्यक्षलाई दबाब बढाउने रणनीतिमा लागेका देखिएका छन् । तर ओलीले गृहमा बादललाई नै राख्ने बताएपछि र आइतबार ओली र प्रचण्ड दुवैसँग थापाले आफु गृहमै रहने बताएपछि दुई नेताको योजनामा तगारो आईलागेको स्रोत बताउछ ।

यसो हुदा अर्थमा विष्णु पौडेल जाने सम्भावना बढेको छ भने जर्नादन शर्माको मन्त्रालय फिक्स हुन सकेको छैन् । पौडेल र शर्मा नेकपाभित्रको विवाद मिलाउन सूत्रधारका रुपमा भूमिका खेलेका नेता हुन् । झण्डै विभाजनको मुखमा पुगिसकेको नेकपाभित्रको घर झगडालाई यी दुई नेताले शंकर पोखरेलसँगको पनि साथ लिएर भित्री दौडधुप गर्ने र दुई अध्यक्षको वरिपरि रहेर विवाद मिलाउन भूमिका खेलका पात्र हुन् । यस अर्थमा शर्मा र पौडेल दुवैले सरकारमा महत्वपूर्ण मन्त्रालय लिएर जान चाहिरहेका छन् ।

पौडेलले आफुलाई पार्टी महासचिवको पनि जिम्मेवारीको भारी रहेको बाहिर बताईरहेपनि भित्र भने आफु जसरी पनि सरकारमा जानुपर्ने ओलीसँग बताएका छन् । ओलीले अहिले पूर्नगठनमा पार्टी नेताहरुसँग सहमत हुनुको एउटा कारण पौडेललाई सरकारमा लैजानकै लागि भएको पनि बालुवाटार स्रोत बताउँछन् । यस अर्थमा उनले अर्थमन्त्रीको जिम्मेवारी पाउने सम्भावना अधिक बढेर गएको छ । तर शर्माको हकमा भने के ? टुंगो लाग्न सकेको छैन । उनले गृह र अर्थ बाहेक अन्य मन्त्रालयमा नजाने बताईरहेका छन् । यसो हुदा प्रचण्डले शर्मालाई मन्त्रीमण्डलमा लैजान चाहेपनि कुन मन्त्रालय दिने भन्नेमा टुंगो लाग्न सकेको छैन् ।

उस्तै परे शर्मा फेरि पनि क्याविनेट बाहिरै पर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । विगतमा उद्योग वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयको जिम्मा लिएर क्याबिनेटमा जान आग्रह गरेपनि उनले नजाने बताएपछि उनी सरकार बाहिरै परेका थिए । नयाँ मन्त्रीका रुपमा दार्चुलाका सांसद गणेश ठगुन्नालाई पनि यसपटक पूर्नगठन हुने मन्त्रिमण्डलमा सहभागी गराउने योजना ओलीको देखिन्छ । भारतसँग कालापानी, लिम्पियाधुरा लिपुलेकको सिमा विवाद रहेको र त्यसक्षेत्रका सांसदलाई मन्त्री बनाएर त्यहाका जनताका बीचमा सेन्टिमेन्ट क्याच गर्ने उद्येश्यले पनि ठगुन्नालाई मन्त्रिमण्डलमा सहभागी गराउन ओलीले चाहेको देखिन्छ । 

तर कति बहालबाला मन्त्रीलाई झिक्ने र कुन मन्त्रालयमा कुन पूर्व समुहलाई दिने भन्नेमा समझदारी बनेपछि मात्रै पात्रहरुका विषयमा नेताहरुले थप कुराकानी गर्ने योजना बनाएका छन् । ‘अहिलेसम्म क्याबिनेटमै रहेका मन्त्रीहरुको नाममा छलफल चलेको देखिन्छ, कसलाई राख्ने, झिक्ने या मन्त्रालय हेरफेर गर्ने भन्ने गरी, तर नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा भने छलफल भईसकेको छैन्, बालुवाटार स्रोतले भन्यो, –‘पहिले संख्या र मापदण्ड बन्यो भने त्यसपछि नयाँको नाममा छलफल होला ।’

नयाँ मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, प्रभु शाह, खगराज अधिकारी, गणेशसिंह ठगुन्ना, प्रेम आले, विशाल भटटराई, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत,  टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, राजबहादुर बुढा लगायत चर्चामा छन् ।
 
 

प्रतिक्रिया दिनुहोस