बारामा आर्थिक अपराधका घटना बढ्दै

पत्रपत्रिकाबाट

आइतबार, ११ असोज २०७७, ०७ : ५९
बारामा आर्थिक अपराधका घटना बढ्दै

बारा । असोज ७ गते सिम्रौनगढ नगरपालिका ९ बँसवरीया नहरखण्डबाट १२ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लियो। नहर सडकखण्डमा सवारी साधान चेकजाँच गर्ने क्रममा बा ६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार रहेकाहरुबाट नक्कली रुपैयाँ बरामत गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका  ५ सिहासनीका बलिराम चौधरी र भारत विहार मोतिहारी जिल्ला झरोखरका संदिप कुमार रहेको पंगेनीले बताए। मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा भारतीय नागरिक कुमारले बाकेको झोलाबाट एक हजारको दरमा रहेको १२ सय १६ थान नक्कली नेपाली नोट बरामद गरिएको उपरीक्षक पंगेनीले दावी गरे।

‘नक्कली रुपैयासहित पक्राउ परेकाहरुसँग बुझदा उनीहरुले ३० थान मोबाइल बेचेर उक्त रकम  जम्मा गरेको खुल्न आएको छ,’ पगेनीले  भने, ‘नक्कली रुपैयाँको कहाँबाट आएको पत्ता लगाउन  मोबाइल खरिद गर्ने  व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेका छौ।’भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौलीबाट सवारी साधन चेकजाँचको क्रममा बेवारीसे अवस्थामा बारा प्रहरीले  १६ लाख नेपाली रुपैयाँ फेला पारेको थियो।

प्रहरीले बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर  मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको उपरीक्षक पंगेनीले बताए। साउन ३ गते महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट   १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा आदर्शकोतवाल ६ का नरेन्द्रप्रसाद कुशवाहो, सिम्रौनगढ नगरपालिका ५ का मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का सुधिरकुमार कुशवाहा रहेका बारा प्रहरीले जनाएको छ।  केही व्यक्तिहरुले लागुऔषध खरिद बिक्री र ओसारपसार लगाएतको अवैध कार्य गरिरहेको  सूचनाको अधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौ र जिल्ला प्रहरी कार्यालयले ती ब्यक्तिहरुलाई खोजतलाश गर्दै जाँदा नक्कली रुपैयाँसहित उनीहरु पक्राउ परेको पंगेनीले बताए।

पक्राउ परेकाहरुको साथबाट एक हजार दरको १४६५ थान र सय दरको ७४६ थान गरेर १५ लाख ३९ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरिएको छ भने हजार दरको पाँच सय दरको २८४ थान, र ५० दरको ७०६ थान गरेर एक लाख ७७ हजार भारतीय नक्कली रुपैयाँ बरामद गरिको पंगेनीको भनाइ छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस