पैसाको ‘अफर’ नस्विकारेपछि ज्यान मार्ने धम्की

बलात्कृत किशोरीलाई १२ लाखको प्रलोभन

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ असोज २०७७, ०७ : ५६
पैसाको ‘अफर’ नस्विकारेपछि ज्यान मार्ने धम्की

काठमाडौं । सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की दिन थालिएको छ । 

बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको पीडित परिवारले जनाएको छ । राजनीतिक दलका नेतासहित ८ जनाको समूहले फकिरचन्द्र गामी मावि, बरकुर्वामा गत बिहीबार घटना मिलाउन पञ्चायती नै राखेको थियो ।

करिब एक महिनाअघि चार जनाले बलात्कार गरेको पीडितको भनाइ छ । पीडितका आमा–बुबा र उनकै एक आफन्तलाई बोलाएर सुरुमा बलात्कार गर्नेहरूबाटै प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने प्रस्ताव गरिएको थियो । पीडितकी आमाका अनुसार आफूहरू मिल्न नमानेपछि रकम बढाउँदै सत्यनारायण यादवले प्रतिव्यक्ति ३ लाखका दरले संकलन गरी १२ लाख रुपैयाँ दिने प्रस्ताव गरेका थिए । 

यादवले अरू ८ लाखजति प्रहरी र अदालतमा खर्च हुने र त्यो रकम आफूहरूले नै तिर्ने बताएका थिए । बलात्कारका आरोपितहरूले नमिले गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले सुनाइन् ।

‘बुबा–आमालाई पैसा लिन दबाब दिँदै छन् । पैसा नलिए ज्यान मार्ने भनेर धम्क्याइरहेका छन्,’ पीडित किशोरीले भनिन्, ‘घरबाहिर जाँदा पनि नचिनिएका मानिसहरूले पछ्याउँछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस