कोरोनामुक्त हुने ७४ प्रतिशतः सात हजार क्वारेन्टिनमा

रासस

बुधबार, ०७ असोज २०७७, १८ : ५०
कोरोनामुक्त हुने ७४ प्रतिशतः सात हजार क्वारेन्टिनमा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७ जनामा नमूना परीक्षण गरिएको थियो । 

काठमाडौँमा सबैभन्दा बढी ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै रुपन्देहीमा ६७, सुर्खेतमा ४९, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, अछाम र कास्कीमा २२÷२२, सर्लाहीमा २१, बर्दियामा १९, डोटीमा १७, मकवानपुरमा १६, कैलाली र धादिङमा १४÷१४, पाल्पामा १३, सप्तरीमा १२, सिरहामा ११ तथा नवलपरासी(बर्दघाट सुस्तापूर्व) र काभ्रेपलाञ्चोकमा १० ÷१० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसैगरी झापामा नौ, कपिलवस्तु र तनहुँमा छ–छ, प्युठान, स्याङ्जा, नवलपरासी, लमजुङ र गोरखामा पाँचपाँच, बारामा चार, कञ्चनपुर र धनुषामा तीनतीन, दार्चुला, बैतडी, दाङ, बागलुङ, नुवाकोट, रौतहट र पाँचथरमा दुईदुई तथा बझाङ, पर्वत, म्याग्दी, चितवन, महोत्तरी, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा एकएक जनामा सङ्क्रमित देखिएको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको छ । सङ्क्रमितमध्ये ४९ हजार ९५४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको प्रतिशत ७३.७ छ । आजसम्म नौ लाख ४४ हजार ४७४ जनामा नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये नौ हजार १८६ होम आइसोलेशन र आठ हजार २२८ जना संस्थागत आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्ये २२० जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सात हजार १०४ जना क्वारेन्टिनमा छन् । मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित तथा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ पुरुष र एक महिला गरी सात जनाको ज्यान गएको छ । झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ र ३९ वर्षीय पुरुष तथा काठमाडौँका ६८ वर्षीय महिलाको कोरोना कारण ज्यान गएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४३६ पुगेको छ । 

हालसम्म विश्वभर तीन करोड १८ लाख १६ हजार ६५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट नौ लाख ७६ हजार २१ जनाले ज्यान गुमाएको तथा दुई करोड ३४ लाख २० हजार ७४६ जना निको भएका छन् ।