विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १२ : २४
विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ । बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

शेर्पाको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । यसैगरी सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका  ‘हिउँ चितुवा’ शेर्पाको शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागिता रहेको थियो । 

सोलुखुम्बुको थामेमा जन्मनु भएका ७२ वर्षीय  सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गर्नुभएको थियो । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।  

आङरिता शेर्पाले सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटकपटक आरोहण गर्नुभएको थियो ।

सन् १९४८ मा जन्मनुभएका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।

आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ ।  आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । सात वर्षअघि उहाँकी पत्नीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस