रासायनिक मल आपुर्ती

शैलुङले आफ्नो बचाउमा पेस गरेको कागजात नक्कली

पत्रपत्रिकाबाट

बुधबार, ०७ असोज २०७७, ०७ : ५२
शैलुङले आफ्नो बचाउमा पेस गरेको कागजात नक्कली

नयाँदिल्ली । समयमै मल आपूर्ति गर्न नसकेको शैलुङ इन्टरप्राइजेजले आफ्नो बचाउमा पेस गरेको कागजात नक्कली भएको पाइएको छ । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडसँग गरेको ठेक्का सम्झौताअनुसार मल आयात गर्न नसकेपछि कृषिले ठेक्का तोड्दै धरौटी रकम जफत गरेको थियो ।

धरौटी जफतपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएपछि शैलुङले बचाउमा समुद्री आँधीका कारण हल्दिया बन्दरगाह सञ्चालनमा अवरोध पुगेको भन्दै कोलकाता पोर्ट ट्रस्टले पठाएको ‘पत्र’ मन्त्रालय र कृषि सामग्री कम्पनीसमक्ष बुझाएको थियो । सेप्टेम्बर ४ को उक्त पत्रमा हल्दिया बन्दरगाहमा दुई सय किलोमिटरभन्दा बढीको गतिले आएको समुद्री आँधीका कारण भौतिक संरचनामा क्षति पुगेको हुँदा असोज दोस्रो साता ९अक्टोबर० सम्ममा ती संरचनाको मर्मतसम्भार सक्ने गरी प्रयास भइरहेको उल्लेख छ । तर कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भने शैलुङले पेस गरेको उक्त पत्रलाई नक्कली भएको दाबी गरेको छ ।

महावाणिज्य दूतावासका अनुसार शैलुङले मन्त्रालय र अदालतमा पेस गरेको हल्दिया बन्दरगाहसम्बन्धी पत्रका सम्बन्धमा हल्दिया बन्दरगाह प्रशासनसँग बुझ्दा त्यहाँबाट त्यस किसिमको कुनै पनि पत्र नपठाइएको तथ्य खुलेको हो । ‘हल्दिया पोर्टले आफूले कुनै पनि पत्र नलेखेको प्रस्ट पारिसकेको हुँदा उक्त चिठी किर्ते गरिएको हो,’ महावाणिज्यदूत ईश्वरराज पौडेलले भने । पत्रका विषयमा बन्दरगाहका अधिकारीले छलफल गरेको र बन्दरगाहबाट त्यस किसिमको कुनै पनि पत्र जारी नभएको जानकारी प्राप्त भएको उनले बताए ।

शैलुङले यही पत्रलाई आधार बनाएर हल्दिया बन्दरगाहमा भौतिक क्षति पुगेर मल बोकेको जहाज आउन नसकेको हुँदा ढिलाइ भएको भन्दै ठेक्का सम्झौता तोड्ने र कालोसूचीमा राख्नेलगायत निर्णय खारेज गर्नुपर्ने माग राखेको छ । स्रोतका अनुसार शैलुङले त्यही पत्रलाई कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र अदालतमा पेस गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस