झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १४ : २४
झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चारमाध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनुपर्नेसमेत बताउनुभयो । ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’

आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।

कोरोना महामारीका कारण सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले आमसञ्चारको क्षेत्रमा देखिएका कमी कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गर्नुभयो । भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

‘स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनु हुँदैन’ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारवाहीका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस