कोरोना भाइरस : खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी

एजेन्सी

मंगलबार, ०६ असोज २०७७, १३ : १८
कोरोना भाइरस : खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी

बीबीसी । विश्वभरिका दुई तिहाइ जनसङ्ख्या प्रतिनिधित्व गर्ने १५६ देशले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

तर उक्त अभियानमा अमेरिका र चीन सामेल छैनन् । सो अभियानका लागि पर्याप्त स्रोत जुटि नसकेको पनि बताइएको छ ।

साझा अभियान
कोभ्याक्स नामक उक्त सुविधाले भावी खोप वितरणमा गरिब मुलुकहरूलाई सहजीकरण गरिदिनेछ ।

कोभ्याक्स अन्तर्गत अर्को वर्षको अन्त्यसम्म दुई अर्ब मात्राको खोप उपलब्ध गराइने आशा गरिएको छ तर अझैपनि उसले पर्याप्त स्रोत जुटाइसकेको छैन ।

डब्लूएचओका महानिर्देशक टेड्रस एडह्यानम गेहब्रेयससले सबै देशका केहीलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए ।

महामारीबाट सबभन्दा छिटो पार पाउने हो भने कुनै देशका सबैलाई खोप लगाउने तरिका सही नहुने उनले बताए ।

ूयो सबै देशको उत्तम स्वार्थसँग मिल्छ । या त हामी सबै सँगै डुब्छौँ या सबै सँगै पौडेर पार पाउँछौँ । यो महामारीबाट उम्कने र तीव्र आर्थिक सुधारमा लाग्ने छोटो बाटो भनेको कुनै देशका सबैलाई खोप लगाएर होइन कि सबै देशका केहीलाई खोप लगाएर हो,ू उनले भने ।

कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, वृद्धवृद्धा तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने बताइएको छ ।

अधिकांश धनी देश सामेल भएपनि अमेरिका र चीनले भने कोभ्याक्समा सहभागिता जनाएका छैनन् ।

अमेरिकाले द्वीपक्षीय लेनदेनमा रुचि देखाउँदै आफ्नै जनतालाई आपूर्ति गर्नमा ध्यान केन्द्रित गर्ने भनेको छ । चीनले चाहिँ डब्लूएचओसँग कुराकानी भइरहेको बताएको छ ।