कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

रासस

सोमबार, ०५ असोज २०७७, १२ : ५३
कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उहाँको मृत्यु भएको छ । 

    कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । अस्पतालमा उहाँको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

    पुरानो दम र श्वासप्रश्वास समस्याबाट पीडित ती व्यक्तिलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत स्वास्थ्य अवस्थामा सुधार नआइ मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । 

    योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । अन्य जिल्ला घर भई बाँकेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या चार रहेको अस्पतालले जनाएको छ ।