महानायक राजेश हमालले गरे एक सय १३ जना प्राविधिकलाई आर्थिक सहयोग

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १२ : ३०
महानायक राजेश हमालले गरे एक सय १३ जना प्राविधिकलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले एक समारोहबीच एक सय १३ जना प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् ।

सबै प्राविधिकलाई आफ्नो हातबाटै आर्थिक सहयोग हस्तान्तरण गर्दै सो कार्यक्रममा अभिनेता हमालले भने, ‘चलचित्र निर्माणमा क्यामेरापछाडि बस्ने प्राविधिकको महत्वपूर्ण हात हुन्छ । तर, अरूको तुलनामा उहाँहरूको पारिश्रमिक निकै कम हुने भएकाले प्राविधिकको अबस्था अहिले निकै जटिल छ ।’

चलचित्र उद्योग सञ्चालन हुन कतिसमय लाग्ने भन्ने अझै निश्चित नभएको बताउँदै हमालले कार्यक्रममा भने, ‘अहिलेको भन्दा अझ खराब अवस्था चलचित्रकर्मीले आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । त्यसैले अहिलेको अवस्थामा सबै सिनेकर्मी समस्यामा छन् ।’ आफू पनि समस्यामै रहेको र अमेरिकामा आफूले कार्यक्रम सञ्चालन गरेबापत प्राप्त केही रकम र साथीहरूबाट प्राप्त रकमबाट यो सहयोग गरेको पनि अभिनेता हमालले बताए ।

अभिनेता राजेश हमालले प्राविधिकलाई सहयोग गर्ने घोषणा गत महिना नै गरेका थिए । तर, सोही समयमा निषेधाज्ञा जारी भएपछि त्यतिबेला सहयोग गर्न नसकेको उनले बताएका छन् । नेपालमा कोरोना संक्रमणका कारण विगत ६ महिनादेखि चलचित्रको छायांकन हुन सकेको छैन । यस्तो अवस्थामा कतिपय प्राविधिकलाई हातमुख जोर्न गाह्रो परिरहेको छ ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केही महिनाअघि पनि विभिन्न कलाकारले प्राविधिकलाई सहयोग गरेको बताए । उनले संकटको घडीमा प्राविधिकलाई सहयोग गरेर नायक हमालले उदाहरणीय काम गरेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस