रक्षामन्त्रीका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो

पत्रपत्रिकाबाट

विहीबार, ०१ असोज २०७७, ०७ : ४५
रक्षामन्त्रीका सम्धी कोइरालालाई बैंकको अध्यक्ष बनाउने एजेन्डा सेलायो

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने प्रस्ताव सेलाएको छ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब महिना दिनसम्म पनि बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।

मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछि बैंक सञ्चालक समितिको बैठक ९भदौ १० गते बुधबार० मा कोइरालालाई अध्यक्ष चयन गर्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाका विषयमा चौतर्फी विरोध भएपछि बुधबार बैठक बस्न सकेन ।

स्थगित बैठक बिहीबार बस्यो । बैठकमा अध्यक्ष चयनको प्रस्ताव राखिएन । स्रोतका अनुसार उक्त बैठकमा कोइरालाले नै नआउने बताएपछि अध्यक्ष नियुक्तिको प्रस्ताव नराखिएको हो । त्यसपछि पनि सञ्चालक समितिका तीन वटा बैठक बसिसकेका छन् । ती बैठकमा पनि अध्यक्ष चयनको प्रस्ताव राखिएन । पछिल्लो बैठक बुधबार (भदौ ३१) मा बस्यो । उक्त बैठकमा पनि अध्यक्ष नियुक्तिको प्रस्ताव नभएको बैंक स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयबाटै अहिले उक्त प्रस्ताव नराख्नू भन्ने निर्देशन आएकाले बैंक व्यवस्थापनले सञ्चालक समितिमा अध्यक्ष नियुक्त प्रस्ताव नलगेको बताइएको छ । हाल बैंकमा अध्यक्ष पद खाली छ । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि अध्यक्ष पद खाली भएको हो । सोही पदमा कोइरालालाई नियुक्त गर्ने अर्थ मन्त्रालयको तयारी हो ।

तर कोइरालाको विवादास्पद छविलाई लिएर चौतर्फी विरोध भएपछि बैंकले अझै अध्यक्ष चुन्न सकेको छैन । हाल अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सहसचिव धनीराम शर्माले बैठकको अध्यक्षता गरिरहेका छन् । अध्यक्ष चयनमा किन ढिलाइ भएको हो रु बैंक स्रोत भन्छ, ‘अर्थ मन्त्रालयबाटै नै अहिलेलाई सो प्रस्ताव अघि नराख्नू भन्ने निर्देशन आएको छ । त्यसको कारण थाहा भएन ।’ नियमित कामका लागि पनि हरेक साता कम्तीमा एक पटक बैंक सञ्चालक समितिको बैठक बस्दै आएको छ ।

कोइरालालाई अध्यक्ष बनाउन नचाहेर बैठकमा प्रस्ताव नलगिएको भने होइन । उनको विषयमा चर्को विरोध भएकाले यही बेला नियुक्त गर्दा नराम्रो सन्देश जाला भनेर रोकिएको स्रोतले बताएको छ । ‘कोइरालाको विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जाल तातेको छ,’ स्रोतले भन्यो, ‘विरोध केही कम होस् भनेर पर्खिएको मात्र हो ।’

नेकपाको पार्टी पंक्तिमा उच्च तहका नेतासँगको कोइरालाको सम्पर्क र उपप्रधान तथा रक्षामन्त्री पोखरेलका सम्धी भएकै कारण पनि बैंकले उनलाई नै अध्यक्ष बनाउने स्रोतको दाबी छ । ‘यति बेला सञ्चालक समिति उपयुक्त समयको पर्खाइमा छ,’ स्रोतले भन्यो, ‘ढिलोचाँडो कोइराला नै अध्यक्ष हुनेछन् ।’ सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । यसकारण पनि उनीहरूले सरकार ९अर्थ मन्त्रालय० को निर्णय मान्नैपर्ने स्रोतको भनाइ छ । अर्थ मन्त्रालयले कोइरालालाई चार वर्षका लागि नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० मा बैंकको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।

सञ्चालकमा नवनियुक्त कोइरालाले भने बैंकबाट खबर नआएकाले सञ्चालक समितिको बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिए । ‘नियुक्त भएलगत्तै बसेको बैंक सञ्चालक समिति बैठकमा म आफैं उपस्थित नभएको हुँ,’ उनले भने, ‘त्यसपछिका बैठकका लागि बैंकबाट खबर आएको छैन ।’ तपाईंले अध्यक्ष बन्न इन्कार गरेको त होइन नि भन्ने जिज्ञासामा कोइरालाले भने, ‘सरकारले जिम्मेवारी दिएपछि किन नलिनु, तपाईंलाई नियुक्त गरेको भए छोड्नुहुन्थ्यो र ?’ कान्तिपुर दैनिकमा खबर छ ।