बामदेव गौतम विरुद्ध सर्वाेच्चमा मुद्दा हाल्ने तयारी

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ०९ : ४६
बामदेव गौतम विरुद्ध सर्वाेच्चमा मुद्दा हाल्ने तयारी

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत सिटमा सरकारले सिफारिस गर्ने बित्तिकै अदालतमा मुद्दाको भित्री तयारी भएको छ । पार्टीका नेता तथा गत चुनावमा पराजित ब्यक्तिलाई विज्ञ समुहका रुपमा राष्ट्रिय सभामा नियुक्ति गर्ने निर्णय संविधानको भावना विपरित भएको र लोकतन्त्रको लज्जा भएको भन्दै उनी विरुद्ध अदालतमा रिट हाल्ने तयारी केही कानुनविदहरुले गरेका छन् । 

मनोनीत सिटमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव हारेका र सक्रिय राजनीतिज्ञलाई ल्याउँदा गलत प्रवृत्तिले निरन्तरता पाउने जिकिर सहित मनोनीत कोटामा गौतमको प्रवेशलाई अस्वभाविक भन्दै रिटको तयारी गरेका हुन् । हुन त उनलाई सिफारिस गर्न सत्तासिन दल नेकपा १८ भदौंमा दोश्रोपटक सचिवालय बैठक बसेर निर्णय गरेसँगै चितवन भरतपुर १२ की तारा बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा उजुरी नै दर्ता गरेकी थिइन् । 

राष्ट्रिय सभा जस्तो गरिमामय सदनमा लोकतान्त्रिक मुल्य मान्यता र सम्बैधानिक व्यवस्था बिरुद्ध गएर गौतमलाई नियुक्ती दिन लागेको आरोप उनको छ । मुलुकको नेतृत्वका योग्य, क्षमतावान, निर्विवादित, शिक्षित व्यक्तिको खाँचो रहेकोमा चुनाव हारेका ब्यक्ति राष्ट्रिय सभामा जाने व्यवस्था नभएको भन्दै उनले उक्त पदमा गौतम भन्दा आफु नै योग्य भएको दाबी गरेर उजुरी दिएकी थिइन् । 

उनले सरकारले चित्तबुझ्दो जवाफ नदिए अदालत सम्म जाने चेतावनी दिएकी थिइन् । सरकारले अहिले गौतमलाई राष्ट्रिय सभा पठाउन सरकारका तर्फबाट राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिसकेको छ । सम्भवत उनको सिफारिस सहितको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट आजै राष्ट्रपति कार्यालय पुग्दैछ । तर बराल मात्रै होइन, केही काँग्रेस निकट कानुन ब्यवसायीले पनि गौतमको निर्णय कानुन विपरित भएको भन्दै मुद्दाको फाइल तयारी अवस्थामा राखेको बताईएको छ ।  

प्रधानमन्त्री कार्यालयले आज उनलाई सिफारिस गरेर पठाएमा भोलि सम्म उनले नियुक्ति भएर पनि राष्ट्रिय सभा सदस्यको सपथ ग्रहण गरिसक्नेछन् । तर त्यसपछि अदालतमा पर्ने मुद्दाले उनको नियुक्तिको विषय अदालतले गर्ने फैसलामा निर्भर हुने देखिन्छ ।  जसकाकारण सरकारले सिफारिस गरेपनि र राष्ट्रपतिले मनोनित गरेपनि अदालतले गर्ने फैसलाले मात्र उनको बाटो खुल्ला हुने देखिएको छ । अझै पनि वामदेव माथी तगरै तगरा लगाउन खोजिएको छ ।  गौतम आफैमा पनि कृषि विज्ञ हुन् ।

लामो समयसम्म किसान महासंघको नेतृतवमा रहेका गौतमलाई विज्ञ नै मान्न नहुने भन्ने छैन् । पार्टी सिष्टममा स्वतन्त्र विज्ञ पाउने कुरा निक्कै अप्ठयारो विषय हो ।  गत प्रतिनिधीसभामा तत्कालिन एमालेभित्रकै अन्तरघातका कारण आफुले चुनाव हारेको गौतमले बताउँदै आएका छन् । त्यसयता उनले प्रतिनिधीसभा मा कुनै सांसदलाई राजीनामा गराई उपचुनाव गरेर आफु छिर्ने अनेक दाउ खोजे । तर सकेनन् । अन्नतः उनी राष्ट्रिय सभा सदस्यकै रुपमा भएपनि संसद छिर्ने योजना बनाएका छन् । उनले प्रतिनिधी सभा छिरेर प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेका थिए । तर अहिले त्यो महत्वाकांक्षमा ठेस लागेको छ  उनी अहिले मन्त्रालयको दाबी गरिरहेका छन् । तर राष्ट्रिय सभा गईहाले पनि उनले भने जसरी मन्त्री ओलीले बनाईहाल्छन् भन्ने कुनै टुंगो छैन् । 

प्रतिक्रिया दिनुहोस