सार्वजनिक यातायात र हवाई सेवा भोलिदेखि सञ्चालन

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०८ : २१
सार्वजनिक यातायात र हवाई सेवा भोलिदेखि सञ्चालन

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गर्नुभयो ।

उहाँले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चार माध्यमको महìवपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै कोरोना भाइरसको विषयमा विज्ञको सल्लाह लिनुहोला, हल्लाको पछि लागेर रुघाखोकी त हो नि भनेर हल्का रूपमा नलिनुहोला भन्नुभयो । सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् ।

साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । सेवा प्रदायकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ । यात्रु चढ्ने र ओर्लने बेलामा अनिवार्य रूपमा सेनिटाइजरको व्यवस्था सेवा प्रदायकले गर्नुपर्ने जनाइएको छ । यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस