डाक्टर बने बिप्लवका छोरा प्रकाश चन्द

प्रकाश सिग्देल

विहीबार, २५ भदौ २०७७, १६ : ३२
डाक्टर बने बिप्लवका छोरा प्रकाश चन्द

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । एमबिबिएस सिध्याएर नेपाल मेडिकल काउन्सीलले लिएको परीक्षामा उत्तीर्ण भएपछि उनी डाक्टर बनेका हुन् । 

भदौ २२ गते काउन्सिलले लिएको परीक्षा उत्तीर्ण गरी उनले डाक्टरको उपाधि पाएका हुन् । उनले चितवन मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका थिए । मेडिकल शिक्षाका बेथितिको अन्त्यका लागि भन्दै  चिकित्सा शिक्षा संघर्ष समिति गठन गरेर लामो समय मेडिकल शिक्षा सुधारका लागि आन्दोलन गरेका चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक समेत हुन् । शालिन ब्यक्तित्व र उदार मनका चन्दले डाक्टर बनेसंगै सरकारी सेवामा प्रवेश गरी गरिब नागरिकको सेवा गर्ने सोच बनाएका छन् । 

विद्यार्थीबाट मेडिकल कलेजले चर्को शुल्क उठाउन थालेपछि गठन भएको समितिको नेतृत्व गर्दै चन्दले देशव्यापी आन्दोलन चर्काएका थिए । सोही आन्दोलनका कारण बढी शुल्क उठाउने मेडिकल कलेजहरू शुल्क फिर्ता दिन बाध्य भएका थिए । विगत दुई वर्षदेखि मेडिकल कलेजमा सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएकोबारे आन्दोलन चर्किएको थियो । पछिल्लो समय चितवन मेडिकल कलेजबाटै उनले विद्यार्थीहरूलाई संगठित बनाएर आन्दोलन सुरू गरेका थिए ।

विद्यार्थी हकहितका लागि आफूले संघर्ष गरिरहने चन्दको भनाई छ । नेपालका निजी मेडिकल कलेजले विद्यार्थीबाट चर्को शुल्क उठाउने गरेका र चिकित्सा क्षेत्रमा व्यापक विकृति भएकाले विकृति रोक्नका लागि आफूले निरन्तर संघर्ष गरिरहने चन्द बताउँछन् । 

प्रकाश चन्दले थालेको आन्दोलनलाई हाँक्ने एमबिबिएस अध्यानरत विद्यार्थी नेतृ मान्यता थापाले मेडिकल शिक्षाको आन्दोलनका प्रमुख योद्धा चन्दले मेडिकल काउन्सीलको परीक्षा उत्तीर्ण गरेको खबरले आफू निकै उत्साही भएको बताइन् । यसले समग्र विद्यार्थीलाई नै उर्जा मिलेको उनको भनाई छ । प्रकाश चन्दकै कारण मेडिकल क्षेत्रका धेरै समस्या समाधान भएको र अझै बाँकी समस्या समाधानका लागि आन्दोलन आवश्यक रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस