बीपी जयन्ती पारेर क्यान्सर अस्पतालको आरटीपिसिआर ल्याब उद्घाटन

सूर्यप्रकाश कँडेल

बुधबार, २४ भदौ २०७७, १३ : ००
बीपी जयन्ती पारेर क्यान्सर अस्पतालको आरटीपिसिआर ल्याब उद्घाटन

चितवन । भरतपुर महानगरपालिकामा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले हालैमात्र सञ्चालनमा ल्याएको आरटीपिसिआर ल्याबको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पुजा श्रेष्ठ र १३ औँ चिनियाँ मेडिकल टिम लिडरले संयुक्तरुपमा ल्याबको उद्घाटन गरेका हुन् । स्वास्थ्यकर्मी श्रेष्ठ क्यान्सर अस्पतालमा कार्यरतमध्ये पहिलो पटक कोरोना संक्रमण भई निको भएकी कर्मचारी हुन् ।

एक सय सातौँ बीपी जयन्तीको अवसर पारेर ल्याबको उद्घाटन गरिएको अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । यसअघि अस्पतालले स्वाब संकलन गरी भरतपुर कोभिड १९ प्रयोगशालामा पठाउने गरेकोमा अब अस्पतालमै रहेको आरटीपिसिआर ल्याबमा परीक्षण गरिएको डा. शर्माले बताए । अब समयमै आरटीपिसिआरको रिपोर्ट आउने भएकोले टाढाबाट क्यान्सर उपचारका लागि अस्पताल आउने बिरामीलाई सहज भइरहेको उनको भनाइ छ ।

‘पछिल्लो समय एकपछि अर्को स्वास्थ्यकर्मीहरु कोभिड संक्रमित हुँदा उनीहरुको आरटीपिसिआर रिपोर्ट आउन धेरै समय लाग्दा उपचार सेवामा कठिनाई परेको थियो’ अस्पतालका उपनिर्देशक डा. शर्माले भने, ‘अबदेखि अस्पतालको आफ्नै प्रयोगशालाबाट समयमै रिपोर्ट आउने हुँदा क्यान्सरको उपचार सेवा समेत थप व्यवस्थित हुने भएको छ ।’

चिनियाँ टोलीको बिदाई र स्वागत

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चीन सरकारको प्राविधिक सहयोगका रुपमा आउने चिनियाँ मेडिकल टिमलाई बुधबार नै बिदाई र स्वागत गरिएको छ ।

चिनियाँ मेडिकल टिमको १२ औँ समूहको बिदाई र १३ औँ समूहको स्वागत गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए । ‘पुरानो चिनियाँ मेडिकल टिमको बिदाई र नयाँ टिमको स्वागत कोरोना कहरको कारण केही ढिला हुन गयो’ उनले भने, ‘पुरानो टिमका सदस्यलाई आज बिदाई गरेका छौँ । नयाँ टिमका सदस्य केही दिनदेखि सौराहामा आइसोलेसनमा हुनुहुन्छ । अब छिट्टै अस्पतालमा आएर बिरामीको सेवामा टिम खट्नेछ ।’

यसैबीच, बीपी जयन्तीको अवसरमा क्यान्सर अस्पताल हाताभित्र रहेको बीपी कोइरालाको अर्धकदको शालिकमा माल्यार्पण गरिएको छ । अस्पतालका अध्यक्ष डा. निर्मलकुमार लामिछाने, संचालक समिति सदस्य डा. विनयकुमार ठाकुर, अस्पतालका विभिन्न विभागका प्रमुख, स्वास्थ्यकर्मी लगायतले बीपीको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस